काठमाडौं । निर्वाचन आयुक्त सगुन शमशेर जबराले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त जबराले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचनसम्बन्धी कानुन र वर्तमान वस्तुस्थितिबारे स्पष्ट जानकारी राख्नुपर्नेमा जोड दिए ।
विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ–संस्थाहरूले निर्वाचनको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले यसपटक पनि सोही अपेक्षा रहेको उल्लेख गरे । साथै, निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिताको पूर्ण पालना गर्न पर्यवेक्षकहरूलाई सचेत गराए ।
उनले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुन्छ । निर्वाचनलाई सफल र पारदर्शी बनाउने जिम्मेवारी पनि तपाईँहरूकै काँधमा छ । संविधान, कानुन र निर्वाचनको समग्र अवस्था बुझेका व्यक्तिले मात्र प्रभावकारी पर्यवेक्षण गर्न सक्छन् ।’
आयुक्त जबराले आयोगले जारी गरेको निर्देशिकामा पर्यवेक्षक संघ–संस्थाले के गर्न हुने र के नहुने भन्ने स्पष्ट रूपमा उल्लेख गरिएको भन्दै त्यसको अधीनमा रही जिम्मेवारी पूरा गर्न आग्रह गरे । आचारसंहिता पर्यवेक्षकहरूलाई पनि लागू हुने भएकाले यसबारे गम्भीर रहनुपर्ने उनको भनाइ थियो ।
पर्यवेक्षकहरूलाई निर्वाचनका महत्वपूर्ण सरोकारवाला तथा निर्वाचनका ‘आँखा’ को संज्ञा दिँदै उनले एक दिने अभिमुखीकरण तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया