आगो लगाएर मार्नेहरुले उल्टै मलाई हत्यारा भन्छन् : केपी शर्मा ओली

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले योजनाबद्ध रूपमा अराजकता सिर्जना गरी आफूमाथि गम्भीर र झुटा आरोप लगाउने काम गरेको बताएका छन् ।

झापावासीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएका घटनामा केही तत्वहरूले ठूलो उपद्रव र राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने प्रयास गरेको दाबी गरे । आगजनी तथा हत्या गर्नेहरू नै उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी र घृणित आरोप लगाएर देशलाई बद्नाम गर्न लागेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने स्पष्ट पार्दै ओलीले आफूले गोली चलाउने आदेश दिएको भन्ने आरोप लगाउनेहरू या त बेवकुफ वा अपराधी भएको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन्छ भन्ने कुरा नै हास्यास्पद हो । यस्ता आरोप लगाउनेहरू झुटा र बेइमान हुन् ।’

अध्यक्ष ओलीको यो अभिव्यक्ति भदौ २३ गते भएको ‘जेनजी’ प्रदर्शन र त्यसपछि भएका हिंसात्मक घटनासँग सम्बन्धित छ । उक्त घटनामा प्रदर्शनकारीहरूको आक्रमण, आगजनी तथा प्रहरीको कारबाहीका क्रममा दर्जनौंको ज्यान गएको थियो । सो घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनले आफूले पटकपटक गोली चलाउने आदेश नदिएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गर्दै आएको पनि स्मरण गराए । घटनामा लुटपाटका नाममा मानिसहरूलाई भित्रै थुनेर आगो लगाइँदा ज्यान गएको र त्यसको यथार्थ लुकाएर आफूविरुद्ध षड्यन्त्र रचिएको उनको आरोप थियो।

अध्यक्ष ओलीले झुटको प्रचार गर्नेहरूले विभिन्न आरोप लगाए पनि वास्तविकता आम नागरिकसमक्ष स्पष्ट रूपमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?