अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन

लोकपथ
161
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो दुई दिनमा तनहुँ, कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन गरेका छन् ।

अर्थमन्त्री खनालले बुधबार कास्की, पर्वत र म्याग्दी जिल्लामा पुगेर प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे छलफल गरेका थिए । साथै उनले जिल्ला निर्वाचन कार्यालयहरूको पनि अवलोकन गरे ।

कास्कीमा प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र ५६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी गराइन् । पर्वतमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले ३५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिए ।  उनले म्याग्दीमा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले १५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको बताए ।

तनहुँ जिल्लामा मंगलबार भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै उजुरी नपरेको र जिल्लाका ८ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिएका थिए ।

अनुगमनपछि अर्थमन्त्री खनालले चारै जिल्लामा निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको र निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले यसका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?