मतदातासँग गगनले खोजे ‘मतको हक’

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आम मतदाताहरुले खोजेको जस्ता पार्टी बनाएको दाबी गरेका छन् ।

अघिल्लो पटक नेपाली कांग्रेसलाई मत हालेका मतदाताहरुले निर्वाचनपछि बदलिएको कांग्रेस चाहिएको गुनासो गरेको सुनाउँदै आफूहरुले मतदाताको गुनासो सम्बोधन गरेर आएको दाबी गरे ।

सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमार्फत् मतदाताहरुलाई सम्बोधन गर्दै सभापति थापाले अघिल्लो निर्वाचनमा विभिन्न शंका हुँदाहुँदै २७ लाख मतदाताले कांग्रेसलाई मत हालेको स्मरण गराए । त्यसबेला मतदाताहरुले नवीन कांग्रेसको सपना देखेको, र अहिले आफूहरुले सोही अनुसार जोखिम मोलेको समेत बताए । विशेष महाधिवेशनबाट कांग्रेसलाई नयाँ बनाएको समेत उनको दाबी छ । मतदाताहरुले भनेअनुसारको कांग्रेस आफूहरुले बनाएको भन्दै आफूहरु अब मतदाताहरुसँग कांग्रेसलाई मत हाल्ने हक खोज्ने समेत बताए ।

‘गत निर्वाचनमा २७ लाख भन्दा बढी मतदाताहरुले नेपाली कांग्रेसलाई मत हाल्नुभयो । मत हालिसकेपछि अर्कोपटक तिमीलाई मत चाहिन्छ भने भनेर भन्नुभयो । यो, यो कुरा चेन्ज गर भन्नुभयो । तपाईँहरुले चेन्जका लागि कल गर्नुभयो, हामीले याक्ट गर्‍यौँ । तपाईँहरुको विश्वासमा तपाईँहरुले भनेका कुराहरुमा हामीले जोखिम उठाएर चेन्ज गरेर आएका छौँ । अब हामी हाम्रो हक माग्छौँ, तपाईँहरुले अघिल्लोपटक अनेकन गुनासाहरु राख्दाराख्दै नेपाली कांग्रेसलाई मत दिनुभयो भने आज तपाईँको गुनासो सम्बोधन गरेर आइसकेपछि हामी हकका साथ तपाईँहरुलाई भन्छौँ तपाईँले यो पटक रुख चिह्नमा मत हाल्नुपर्छ । तपाईँको विश्वासमा जोखिम उठाएर नेपाली कांग्रेस पार्टी बदलेका छौँ । अब तपाईँको मतको आधारमा बदलेको नेपाली कांग्रेसको माध्यमबाट देश बदल्न चाहन्छौँ,’ उनले भनेका छन् ।

त्यस्तै उनले नेपाली कांग्रेसले विगतमा विभिन्न गल्तीहरु गरेको समेत स्वीकार गरे । जानेर, नजानेर या बाध्यतामा परेर, जे गरे पनि आफूहरुले गल्ती गरेको र त्यसलाई स्वीकार गर्न सक्ने ताकत आफूहरुसँग भएको उनको दाबी रहेको छ ।

हरेक संस्थाहरुमा दलीयकरणका कारण संवैधानिक अंगदेखि न्यायीक निकायहरुले राम्रोसँग काम गर्न नसकेको उनको दाबी छ । साथै बदलिएर आएको कांग्रेसले सबैलाई सुधार गर्ने उनको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?