काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रिया प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगका प्रतिनिधिसँग टिकटकको प्रतिनिधिमण्डलले भेट्दा भण्डारीले सबै पक्षलाई प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सजग हुन आह्वान गरेका हुन् ।
उनले टिकटकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘तपाईंहरूले नेपालको निर्वाचनलाई निःशुल्क, पवित्र सोचका साथ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ, जुन अत्यन्त महत्वपूर्ण छ ।’
आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रम फैलाउने सामग्री र निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्ने तयारी गरेको जनाएको छ ।
भण्डारीले थपे, ‘आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन। यसले निर्वाचन प्रक्रिया बिथोल्ने मात्र नभई लोकतान्त्रिक माहोल धमिल्याउने प्रयास हुन सक्छ। विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनमा छ ।’
विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढिरहेको अवस्थामा आयोगले प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै कडा कदम चाल्ने योजना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया