काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले आज जापानमा भएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौं,’ भेटमा राष्ट्रपति पौडेलले भनेका थिए ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हामीबिच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा रहेको भन्दै उनले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताए ।
नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको बताए ।
‘यसका लागि नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ,’ राष्ट्रपति पौडेलले भने ।
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्वर्पूण योगदान पुगेको उनको भनाई थियो ।

‘नेपाल अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुने क्रममा नेपालले जापानबाट, सदाझैँ सहयोग र सदभाव प्राप्त गर्ने नै छ भन्ने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने ।
विश्व शान्ति, स्थायित्व र भाइचाराजस्ता बुद्धको दर्शनमा विश्वास गर्ने दुबै देशका लागि बुद्ध जन्मभूमि लुम्बिनीले दुबै देशका जनताबीच बलियो पुलको काम गरेको उनको भनाई थियो । उनले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
सो अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताइन् ।
उनले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सम्पर्क र जापानी नागरिकले नेपालको हिमालहरु चढ्ने गरेकोजस्ता कारणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गएको बताइन् ।
प्रधानमन्त्री सनायले नेपाल जापान कूटनीतिक सम्बन्धका अवसरमा दुबै देशबीच झन् प्रगाढ होस् भन्दै जापानले नेपालको सूूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने पनि बताएका थिए ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार जापान पुगेका हुन् ।
उनले यसअघि सोमबार जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गरेका थिए भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले उहाँसँग शीष्टाचार भेट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया