नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले युवालाई अनुशासित भएर समाज र राष्ट्रको सेवामा समर्पित हुन आग्रह गरेकी छन् ।
नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, नवलपरासी(बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका अझ प्रभावकारी हुने बताइन् ।
उनले युवालाई अनुशासनलाई जीवनशैली बनाउन, कर्तव्यपालन र मर्यादालाई जीवन, अध्ययन तथा दैनिक सेवामा निरन्तर अभ्यास गर्न आग्रह गरिन् । ‘राष्ट्रप्रेमलाई कर्ममा उतार्नुस्, व्यवहारमै इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार नागरिकका रूपमा आफूलाई प्रस्तुत गर्नुस्,‘ प्रधानमन्त्री कार्कीले भनिन्। उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउन तथा भाषा, संस्कृति र जातजातिको विविधतालाई सम्मान गर्दै ‘म नेपाली हुँ’ भन्ने भावना आत्मसात् गर्न पनि आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय सेवा दलमार्फत प्रत्येक वर्ष प्रशिक्षित हुने विद्यार्थीको सङ्ख्या आगामी वर्षदेखि बढाइने उल्लेख गर्दै युवामा कर्तव्यपालन र अनुशासन विकास गर्न एनसीसी तालिम फलदायी रहेको बताइन् । ‘एनसीसीले सिकाएको अनुशासन, समयपालै, नेतृत्व क्षमता र राष्ट्रप्रतिको भावना जीवनभर साथ दिने शिक्षा हो, ‘उनले भनिन्।
राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईंका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ मा कुल ७ हजार ७१० छात्ररछात्रा एनसीसी तालिममा सहभागी भएका छन् । तीमध्ये सिनियर डिभिजनमा १ हजार ८० र जुनियर डिभिजनमा ६ हजार ६३० जना दीक्षित भएका छन् ।
चार वटा शिक्षालयमार्फत ७७ जिल्लाका छात्ररछात्रा सहभागी हुने एनसीसी तालिम अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित मध्य तालिम शिक्षालयबाट मात्रै ५३० छात्ररछात्रा दीक्षित भएका छन् ।
एनसीसी तालिमले युवामा राष्ट्रसेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, टोलीमा काम गर्ने क्षमता तथा नागरिक सरोकारप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ । मध्य तालिम शिक्षालयले प्रत्येक वर्ष विद्यालय तहका सयौँ विद्यार्थीलाई नियमित तालिम प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया