‘मेयर र प्रदेश सभाबाट राजीनामा दिएर निर्वाचनमा होमिनेहरु धोकेवाज प्रेमी जस्तै हुन’

लोकपथ
203
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य पदम परियारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन ठूलो संख्यामा जनप्रतिनिधिहरूले कार्यकाल पूरा हुनुअगावै राजीनामा दिएको विषयप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

उनकाअनुसार ३० जनाभन्दा बढी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले निर्वाचनमा उम्मेदवार बन्न कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएका छन् । उनले नेपालको संविधानको धारा ८६, १७७ र २१५ अनुसार संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकिएको स्मरण गराए ।

उनले जनताबाट प्राप्त जनादेश र संविधानप्रति गरिएको शपथ बिर्सेर पद त्याग गर्ने प्रवृत्तिले राज्यलाई अनावश्यक आर्थिक भार थपिएको बताउँदै विद्यमान कानुनमा संशोधन गर्न सरकार र संसदको ध्यानाकर्षण गराएका गराए ।

उनले जनताप्रति उत्तरदायी संसदीय राजनीतिक संस्कार स्थापित गर्न कानूनी व्यवस्था थप मजबुत बनाउन आवश्यक रहेको बताए । उनले जनताको जनादेश बिर्सिएर भगौडा र धोकेबाज प्रेमीजस्तै जनप्रतिनिधि भागेको टिप्पणी पनि गरे ।

उनले भने, ‘अगामी २१ फागनुको निर्वाचनका लागि ३० जनाभन्दा बढी प्रदेश सांसद एवं स्थानीय तहका प्रमुखरउप्रमुखहरुले आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै राजीनामा दिएर निर्वाचनमा होमिने निर्णय गर्नुभएको छ । नेपालको संविधानको धारा ८६, १७७ र २१५ ले सांसदहरुको कार्यवअधी पाँच वर्ष तथा स्थानीय तहका प्रतिनिधिको कार्यअवधी समेत पाँच वर्ष तोकेको छ । भगौडा र धोकेबाज प्रेमीजस्तै यीनिहरुले जनतासँग खाएको वाचा र शपथ खाएको संविधान बिर्सिएका छन् । फेरी उपनिर्वाचन गराउन बाध्य पारेर राज्यको ढुकुटिमा करोडौँको भार थपेका छन् । तसर्थ सम्माननीय अध्यक्ष महोदय जनतालाई धोका दिने र आफ्नो जिम्मेवारी नसकिँदै भाग्ने भगौडा राजनीतिलाई रोक्न र संसदीय राजनीतिलाई रोक्न विद्यमान कानूनहरुमा संशोधन गर्न जोडदार माग गर्दछु ।’

अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन प्रदेश अधिकांश प्रदेश सांसदहरु एवं स्थानीय तहका प्रतिनिधिहरु राजीनामा दिएर निर्वाचनमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?