चुनावको मुखमा भारतीय सीमाक्षेत्रमा नक्कली नोट आतंक, तीन नेपालीसहित १० जना पक्राउ

लोकपथ
301
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको एउटा ठूलो गिरोह भारतमा पक्राउ परेको छ । पक्राउ पर्नेमा तीन जना नेपाली र सात जना  भारतीय नागरिक छन् ।

भारतको पूर्वी चम्पारण प्रहरी र एसटीएफको संयुक्त टोलीले भारतको सीतामढीको मेजरगञ्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । भारतीय प्रहरीका अनुसार, उनीहरू नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत रक्सौल आसपासमा नक्कली नोटको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोह भएको जनाइएको छ ।  

उनीहरूद्वारा सञ्चालित नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना पनि भारतीय प्रहरीले फेला पारेर ध्वस्त पारेको छ ।

पक्राउ परेकाहरूबाट २५ लाख रुपैयाँबराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र नोट छाप्ने हाइटेक मेसिन बरामद भएको छ । यस्तै, नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य सामग्री पनि बरामद भएको भारतीय प्रहरीको भनाइ छ । छापामारी क्रममा तीन वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको छ । 

सुरक्षा निकायले गिरोहका अन्य सदस्य र यसका मुख्य योजनाकार (मास्टरमाइन्ड) को खोजी तीव्र बनाएको जनाएको छ ।

प्रहरीले नक्कली नोट कारोबार राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएकाले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?