निर्वाचन आउन ३२ दिन बाँकी, देव गुरुङ सोध्छन्– ‘यसको औचित्य चाँही के हो ?’

लोकपथ
203
Shares

काठमाडौं । फागुन २१ को निर्वाचन आउन अब ३२ दिन बाँकी रहँदा समेत त्यसको औचित्यमाथि प्रश्न उठ्ने क्रम रोकिएको छैन । केही व्यक्ति र समूहले मात्र होइन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु नै निर्वाचनको प्रयोजनबारे प्रश्न उठाइरहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको प्रायोजनमा प्रश्न उठाए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो निर्वाचन दलहरूलाई पुनःस्थापित गर्नका लागि हो कि अरू कुनै शक्तिलाई स्थापित गर्न वा राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने खेलका लागि हो भन्ने आशंका व्यक्त गरे ।

भदौ २३–२४ गतेका घटनापछि संसद विघटन गरी घोषणा गरिएको आगामी निर्वाचनको प्रायोजन र वास्तविक उद्देश्यमा प्रश्न उठाए ।

उनले यो निर्वाचन दलहरूको पुनरुत्थानका लागि नभएको आशंका उब्जिएको बताए ।

उनले भने, ‘भदौ २३ र २४ को परिघटनालाई हेर्ने हो भने २३ गतेको शुरुवातको मागहरु सकारात्मक देखिएको भएपनि २४ गतेको विध्वंशको घटना मुलुकको इतिहासमा गम्भीर प्रकृतिको हो । त्यसले यतिखेर एक प्रकारले भन्दा संविधान क्रियाशिल छैन । निष्क्रिय छ । संविधान लागू भएको छैन । दलहरु यतिबेला पर्यवेक्षकको रुपमा मात्रै छ । दलहरुको शासन छैन । जेन–जीको नाममा निर्दलीय प्रकारको सरकार छ । दलहरुको भुमिका छैन । निर्वाचन गरिदिए दलहरु सहभागी हुने हो । अन्यथा दलहरुको भुमिका छैन । दलीय व्यवस्था र लोकतान्त्रिक प्रणाली एक प्रकारको गम्भीर संकटको संघारमा छ । यो लोकतान्त्रिक प्रणाली पुनः क्रियाशिल हुन्छ की हुँदैन, दलीय प्रणाली पुनः क्रियाशिल हुन्छ की हुँदैन त रु यहाँ केही कन्ट्रोभर्सी देखिन्छ, एकातर्फ दलीय प्रणालीअन्तर्गको संसद थियो, तर त्यसलाई विघटन गरिएको छ, अर्कोतर्फ चुनाव गर्ने भनिएको छ । आखिरमा चुनाव गर्ने र दलहरुले पावर ल्याउने हो भने हिजो पनि दलीय प्रणाली थियो, संसद थियो । संसद हुँदाहुँदै त्यसलाई विघटन गरेर निर्वाचनको प्रक्रियाबाट जो गएको छ, यो निर्वाचनको प्रायोजनको उद्देश्य के हो भन्नेकुरा प्रश्न उठेको छ । यसको प्रायोजन, यसको उद्देश्य दलहरुलाई पुनःस्थापित गर्ने हो की होइन भन्ने प्रश्न छ । निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन भयो भने त दलहरु पुनःस्थापित हुन्छन्, त्रिशंकु होला वा सानो ठूलो रुपमा आउलान् । यदी निर्वाचनबाट अर्कै शक्ति स्थापित गर्न खोजिएको हो भने, राजनीतिक दलहरु स्थापित गर्न खोजिएको होइन भने र राजनीतिक दलको नाममा नाममात्रैको दलहरु खडा गरेर मुलुकको स्वाधिनतालाई कमजोर पार्ने प्रकारका खेलहरु त होइन भन्ने आशंका छ ।’

नेता गुरुङले पपुलिजमको आधारमा देश गए राष्ट्रिय अस्मिता नै सकिने टिप्पणी गर्नुभयो । नेपाल द्वन्द्वग्रस्त क्षेत्रको दिशामा जान लागेको बताए । राजनीतिक दलीय प्रणाली पुनः क्रियाशिल हुनेमा आफूहरु आशावादी रहेको बताए । अहिले नियमित प्रकारको निर्वाचन नभएकाले यसलाई विशेष महत्वका साथ हेर्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?