काठमाडौं–सोलु जोड्ने द्रुतमार्गको लागि संसदमा आवाज उठाउँछु : असिम राई

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार असिम राईले काठमाडौं–सोलुखुम्बु जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि संसदमा सशक्त आवाज उठाउने बताएका छन् ।

सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा बोल्दै राईले काठमाडौंबाट खुम्बुसम्म द्रुतमार्ग निर्माण भएमा एकै सिजनमा ५० लाखसम्म पर्यटक नेपाल भित्रिने सम्भावना रहेको बताए । यसले सोलुखुम्बु मात्र नभई समग्र देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

राईले आफू निर्वाचित भएर प्रतिनिधिसभामा पुगेपछि जिल्लाका जनताको शिर उँचो हुने गरी विधायिकाको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । सोलुखुम्बुमा विकास निर्माणका धेरै काम अझै अधुरा रहेको उल्लेख गर्दै उनले बाँकी योजनालाई प्राथमिकतामा राख्ने जानकारी दिए ।

उनले सोलुखुम्बु जिल्लालाई राज्यले न्यायोचित दृष्टिले नहेरेको आरोप पनि लगाए । सगरमाथा क्षेत्रबाट उठ्ने रोयल्टी राज्यले उपयोग गरे पनि हिमाल संरक्षण र स्थानीय विकासमा पर्याप्त ध्यान नदिएको राईको दाबी छ । ‘सगरमाथा बचे देश र विश्व बच्छ,‘उनले भने, ‘यो ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्वको जिल्ला भएकाले यहाँ राज्यको विशेष ध्यान आवश्यक छ ।’

राईले भारतीय पर्यटक सोलुखुम्बु भित्र्याउने उद्देश्यले चतरादेखि खुम्बुसम्म जोड्ने दुधकोशी करिडोर निर्माणका लागि पहल गर्ने बताए । साथै, जिल्लाका सबै वडाबाट सदरमुकाम जोड्ने सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय विकास, पर्यटन प्रवर्द्धन लगायतका विषयलाई आफ्नो प्राथमिकतामा राखेको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?