बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भने : ‘देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन’

लोकपथ
252
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहलाईलक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गरेका छन् ।

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिलेको राजनीतिक संघर्ष ‘देश जलाउने कि देश बनाउने शक्तिहरूबीच’ रहेको बताएका हुन् । उनले नेकपा एमाले देश बनाउने शक्ति भएको दाबी गर्दै देश जलाउने शक्तिहरू कहिल्यै सफल नहुने बताए ।

अध्यक्ष ओलीले साह झापा–५ मा आफूविरुद्ध ठुटे सिङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गर्दै बताए, ‘अण्डा दुई प्रकारका हुन्छन् एक बतासे र अर्को साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निस्किँदैन । यिनीहरू बतासे खेती गरिरहेका छन्, उद्देश्य र विचार छैन ।’

उनले आगामी निर्वाचनले देश अराजकतामा जाने कि विधिको शासन, कानुनको राज कायम गर्ने भन्ने निर्णय गर्ने उल्लेख गरे। साथै ओखलढुंगाबाट उम्मेदवार अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै अस्मिता हार्नु देश हार्नु सरह हुने जिकिर गरे ।

ओलीले रास्वपा लगायतका शक्तिहरूले लुटपाट, आगजनी र तोडफोड मात्रै गर्न जानेको आरोप पनि लगाए । ‘भविष्यमा देश बनाउने कि बिगार्ने भन्ने फैसला जनताले निर्वाचनमार्फत गर्नेछन्, ‘उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?