स्वतन्त्र, निष्पक्ष र भयरहित मतदान लोकतन्त्रको आधार : उपराष्ट्रपति यादव

लोकपथ
21
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार भएको बताएका छन् ।

शनिबार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वासयोग्य बनाउन सबै पक्षको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताए ।

उपराष्ट्रपति यादवले निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमले सक्रिय योगदान गर्नुपर्ने बताए ।

उनले पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भको रूपमा व्याख्या गर्दै समावेशिता, समान अवसर र सबैको आवाज प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न आग्रह गरे । सत्य, निष्पक्षता र जनमुखी दृष्टिकोण आत्मसात गर्दै राष्ट्र निर्माणमा योगदान दिन पत्रकार समुदायलाई आह्वान गरे ।

डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले राष्ट्रको आवाजलाई सशक्त बनाउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?