काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर सम्वादमा रहेको बताएका छन् ।
शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निवर्तमान सभापति देउवासहितका नेताहरुसँग निरन्तर सम्वादमा रहेको बताएका हुन् ।
सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन समेत दिए ।
हिजोका कुरालाई लिएर कांग्रेसका कुनैपनि नेता, कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको सभापति थापाको भनाई थियो । उनले निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गर्ने नेता, कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिए ।
सभापति थापाले भने, ‘नेपाली कांग्रेस पार्टीमा अहिले नयाँ नेतृत्व आएको छ । र यो अधिवेशनका क्रममा पार्टी भित्र केही अप्ठयाराहरु पनि रहे । तर म सबै साथीहरुलाई अनुरोध गर्न चाहन्छु–नेपाली कांग्रेस पार्टीले यस्ता अप्ठयाराहरु सहनसक्ने क्षमता नेपाली कांग्रेससँग छ । म अहिले नेपाली कांग्रेसका निवर्तमान सभापति श्रद्धेय नेता शेरबहादुर देउवासँग पनि निरन्तर सम्वादमा छु । पार्टीका अरु नेताहरुसँग पनि निरन्तर सम्वादमा छु । नेपाली काँग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचनतर्फ अगाडि बढिरहेको छ । हिजोको कुरालाई लिएर कहीँकतै कसैले पनि मनमा पनि केही कुरा नराख्नु होला । र, फागुन २१ गते पछाडि पनि पार्टीभित्र सबै साथीहरु एक ढिक्का भएर मिलेर हामी अगाडि बढ्छौँ । त्यसैले सबै जना एकढिक्का भएर जानुपर्छ । कहीँकतै कसैलाई पनि हामीहरु हिजो कहाँ उभियौ भन्ने आधारमा न पार्टीको नेतृत्वले त्यो व्यवहार गर्छ, न गर्न हुन्छ । हामी सबै एक ढिक्का भएर जान्छौ । त्यसकारण मेरो पहिलो आग्रह नेपाली कांग्रेस पार्टी भित्र अव हिजोको कुरामा अडकिएर बस्ने समय कोहीसँग पनि छैन । हामी एक ढिक्का, एक मन भएर निर्वाचनमा जाने हो । पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरुलाई पार्टीले कारबाही गर्छ ।’
सभापति थापाले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकि न राख्ने पनि बताए ।
गत माघ १२ गते आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं ४ मा पुगेका सभापति थापा आज काठमाडौं फर्किएका छन् । उनले आफू सर्लाही पुग्दा द्विविधामा रहेको तर फर्कँदा उत्साह लिएर फर्किएको प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया