ओलीमाथि हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछ : महेश बस्नेत

लोकपथ
434
Shares

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै बस्नेतले भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा २३ जनाको मृत्यु भएको स्मरण गराउँदै, तत्कालीन प्रधानमन्त्री ओलीले मृतकका परिवारलाई क्षतिपूर्ति दिने र शहीद घोषणा गर्ने निर्णय गरेका बताए ।

उनले भदौ २४ गते संविधान र सुरक्षा निकायहरू हाइज्याक गरेर देशलाई ध्वस्त पार्ने षड्यन्त्र भएको टिप्पणी पनि गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै देशभरबाट १४ हजार कैदी भागेको उल्लेख गर्दै, भागेकामध्ये दुई जनाको मृत्यु र दुई जनाले आमा तथा श्रीमतीको हत्या गरेको घटनाको जिम्मेवारी सभापति लामिछाने र बालेन्द्र साहले लिनुपर्ने बताए ।

बस्नेतले भने, ‘आज पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछ। अध्यक्षज्यूले मन्त्रिपरिषद् बैठक बोलाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिने र उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरे। मुलुकमा भएको ध्वंसको सबै हिसाबकिताब गरिनेछ ।’

उनले विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?