ओलीलाई झापा–५ मा चुनाव जित्न कुनै जोखिम छैन : शंकर पोखरेल

लोकपथ
56
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा निर्वाचन क्षेत्र नम्बर ५ मा विजयी हुन कुनै समस्या नरहेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको नाम सामाजिक सञ्जालमा चर्चामा रहे पनि त्यसले झापा–५ को चुनावी परिणाममा निर्णायक असर नपार्ने बताए । 

उनका अनुसार सो क्षेत्रका मतदाता राजनीतिक रूपमा सचेत भएकाले लोकप्रियतावाद र अराजकतावादको प्रभावमा नपर्ने एमालेको निष्कर्ष छ ।

‘झापा–५ का जनता राजनीतिक रूपमा जागरुक छन् । पञ्चायतविरुद्ध संघर्षको शंखनाद भएको ठाउँ हो यो । लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका जनताले पपुलिजम र एनार्किजमको प्रभावमा परेर परिणाम उल्ट्याउँछन् भन्ने मान्यता पार्टीको छैन, ‘उनले भने । 

सामाजिक सञ्जालमा हुने हल्लाखल्लाले केही प्रभाव पारे पनि वास्तविक मतदाताबिच एमाले सुरक्षित अवस्थामा रहेको उनको दाबी थियो ।

महासचिव पोखरेलले दाङ निर्वाचन क्षेत्रका विषयमा पनि आफू विजयी हुनेमा विश्वास व्यक्त गरे । विगतमा राजनीतिक दलहरूबिच गठबन्धन हुँदा र माओवादी तथा नेपाली कांग्रेसको प्रभाव रहेको जिल्लामा समेत एमाले झिनो मतान्तरले पराजित भएको स्मरण गर्दै यसपटक परिस्थिति अनुकूल रहेको बताए ।

उनका अनुसार विगतको निर्वाचनमा आफू पराजित हुँदा दाङले धेरै अवसर गुमाएको अनुभूति अहिले दाङका जनताबिच छलफल र बहसको विषय बनेको छ । ‘यसपटक राष्ट्रिय राजनीतिमा दाङको भूमिकालाई स्थापित गर्न शंकर पोखरेललाई जिताउनुपर्छ भन्ने निष्कर्षमा दंगाली जनता पुगेको मैले महसुस गरेको छु, ‘उनले भने ।

महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै त्यसलाई कसैले रोक्न नसक्ने जिकिर गरे । उनले चुनावी प्रतिस्पर्धा मुख्यतः नेपाली कांग्रेससँग हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?