काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थेबेले भावी प्रधानमन्त्रीका दावेदारहरूले राष्ट्रिय हितका संवेदनशील विषयमा स्पष्ट स्टेटमेन्ट दिनुपर्ने बताएका हुन् । ‘हुनेवाला प्रधानमन्त्रीको लिपुलेक र लिम्पियाधुराबारे स्टेटमेन्ट के हो ?’ भन्दै उनले नेता साहसँग प्रत्यक्ष प्रश्न गरे ।
थेबेले नयाँ भनिएका राजनीतिक दलहरूसँग ठोस नीति, दृष्टिकोण र एजेण्डा नदेखिएको टिप्पणी पनि गरे । एजेण्डा भए सार्वजनिक बहसमा आउनुपर्ने उल्लेख गर्दै उनले आम सञ्चारमाध्यमले बहसका लागि बोलाउँदा पनि सहभागी नहुने प्रवृत्तिप्रति प्रश्न उठाए ।
एमालेको नेतृत्वमा मुलुकमा व्यापक परिवर्तन भएको दाबी गर्दै उनले विद्युत् विस्तार, शिक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएको बताए । ‘राणा कालमा ६ प्रतिशत नागरिकले मात्र बिजुली पाएका थिए, आज हामीले ९८ प्रतिशत नागरिकलाई विद्युत् पहुँचमा पुर्याएका छौँ,‘उनले भने, ‘सार्वजनिक विद्यालयमा आइटीको विकास गरिएको छ र भ्रष्टाचारमा शून्य सहनशीलताका साथ अगाडि बढेका छौँ ।’
उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गर्ने काम एमाले नेतृत्वकै सरकारले गरेको दाबी गर्दै पुनः नेता साहलाई आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे ।
अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि नेपाली समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित पार्टी जनतामाझ गएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया