काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।
शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राणा शासनको अन्त्यका लागि सङ्घर्ष गरेका गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन् ।
उनले त्यसको एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्य जनताको हुन नसकेको उल्लेख गर्दै भनेका छन्, ‘८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिन सकेन । यसबिच नेपाली जनताले निरन्तर सङ्घर्ष गर्नुपर्यो ।’
बालेन शाहले भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’को पनि सन्दर्भ उठाउँदै सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले फेरि जीवन गुमाउनुपरेको उल्लेख गरेका छन् । ‘८५ वर्ष अघिजस्तै यसपालि पनि युवाहरूले बलिदान दिनुपर्यो,‘उनले भनेका छन् ।
उनले शहीदहरूको सपना पूरा गर्ने जिम्मेवारी अहिलेको पुस्ताको काँधमा रहेको उल्लेख गर्दै लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
साथै राज्यका निकायहरूमा बढ्दै गएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया