काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक साहले सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक समाचार प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरिन् । यस्ता गतिविधिले निर्वाचनको निष्पक्षतामा असर पार्ने भन्दै उनले कडा निगरानी र कारबाही आवश्यक रहेको बताइन् ।
उनले आम मतदातालाई पनि सामाजिक सञ्जालमा आएका सबै सूचना सत्य नहुने भन्दै सचेत रहन आग्रह गरिन् । ‘सामाजिक सञ्जालमा आएका सबै कुरामा विश्वास नगर्नुहोस्, भेरिफाइ गरेर मात्र बुझ्नुस्,’ उनले भनिन् ।
प्रमुख सचेतक साहले गलत तथा भ्रामक सन्देश सम्प्रेषण गर्ने व्यक्ति र उम्मेदवारलाई कानुनी दायरामा ल्याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरिन् । साथै, निर्वाचनका क्रममा कुनै पनि दल वा उम्मेदवारले गलत सन्देश दिने काम गर्न नहुने स्पष्ट पारिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया