काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर आफ्नो पार्टीको लहर बढिरहेको दाबी गरेका छन् ।
आइतबार नेकपा राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।
बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको दाबी गरे ।
उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे । साथै जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।
उनले वैकल्पिक शक्तिको नाममा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भने कटाक्ष गरेका छन् । उनले रास्वपाकै कतिपय नेताहरुको कारण माहोल थप बिग्रिएको समेत दाबी गरे ।
रास्वपामा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरुका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको उनको टिप्पणी छ ।
मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि प्रचण्डले उल्लेख गरे । प्रचण्डले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले प्रयोग गरिरहेको सवारी र त्यसैको कारण आएको विवादले माहोल खस्किएको दाबी गरे ।
यता गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा आफ्ना पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चित जस्तै भएको उनको दाबी छ । उम्मेदवारी फिर्ता र डा. भट्टराईसँग भएका संवादले अब डा. भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने विश्वास समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया