अभियन्ता ‘ईःई’ ले बालेनलाई किन दिए दोस्रो केपी ओलीको संज्ञा ?

लोकपथ
476
Shares

काठमाडौं । आसन्न फागुन २१ को निर्वाचनबारे प्रधानमन्त्रीको उम्मेदवार घोषित पात्रहरुको ‘पब्लिक डिबेट’ बारे चर्चा चलिरहेको छ ।

आसन्न निर्वाचनका लागि कांग्रेसबाट गगनकुमार थापा, एमालेबाट केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह ‘बालेन’ लाई आ–आफ्नो पार्टीबाट आगामी निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा घोषणा गरिएको छ ।

अनुसार तीन अनुहारलाई एउटै सार्वजनिक मञ्चमा राखेर सवाल–जवाफ गराउनुपर्ने आवाज उठिरहेको छ । ओली र थापाले त्यसबारे सकारात्मक प्रतिक्रिया जनाइरहँदा बालेनले भने त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

उनले ओलीले सार्वजनिक सवालजवाफका लागि राखेको प्रस्तावमा कटाक्ष गर्दै आफू उपस्थित नहुने स्पष्ट पारेका छन् । उनले ओलीलाई जेनजी आन्दोलनको हत्यारा र थापालाई त्यसको मतियार भन्दै कटाक्ष गरे ।

बालेनले सार्वजनिक सवालजवाफमा नजाने अडान राखेकोबारे विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।

यता अभियन्ता ईःईले बालेनले कुनै भिडियो अन्तर्वार्ता नदिने, सार्वजनिक मञ्चमा डिबेट नगर्ने रणनीति अपनाएको भन्दै कटाक्ष गरेका छन् । उनले बालेन सार्वजनिक सवालजवाफमा बस्दा अन्य दुई भन्दा प्रस्तुती कमजोर हुने र आफू चिप्लिने डरले नमानेको आरोप लगाएका छन् ।

राजनीतिमा ओलीको सान्दर्भिकता समाप्त भइसकेको दाबी गर्दै अभियन्ता ‘ईःई’ ले भविष्यका लागि अर्को केपी ओली चाहिएन त ? भन्दै प्रश्न गरेका छन् । जेनजी आन्दोलनपछि ओली–बालेन एकअर्काप्रति कटाक्ष गरिरहेका छन् । दुवै एकअर्काप्रति असहिष्णु व्यवहार गर्ने गरेको भन्दै आलोचना समेत भइरहेको छ ।

त्यसो त बालेन महानगरको मेयरको रुपमा रहँदा तल्लो तहको नागरिकहरुलाई दुःख दिएको आरोप लगाउँदै पब्लिक डिबेटमा जाँदा त्यसमा ‘ब्याक फायर’ हुनसक्ने समेत आरोप अभियन्ता ईःईले लगाएका छन् ।

ईःईले बालेनलाई लक्षित गर्दै भनेका छन् :

कुनैपनि भिडियो अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगर्ने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो। चिप्लिनुभन्दा stage managed appearances गर्नु र status ठोक्दै बस्नु बेस। त्यतिले दम पुगेकैछ। केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविष्यका लागि अझ अजङ्गको अर्को केपी चाहिएन त?

Journalistic integrity र zeal भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानूनीराजको उपहास, सामाजिक-आर्थिक नीति, गणतन्त्र – संघीयता – धर्म निरपेक्षता आदिबारे केरकार गर्यो भने पारा तातिएर, volcano पड्केर उत्पात हुनसक्छ। त्यस्तो प्राकृतिक दूर्घटना हुनदिनुहुँदैन।

The show must go on.

अभियन्ता ईःईले बालेन काठमाडौंको मेयर रहँदा विभिन्न माग राखेर उनको विरुद्धमा अनसन समेत बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?