इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता : सुनिता डंगोल

लोकपथ
336
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा उपप्रमुख सुनिता डंगोलले इतिहासबाट पाठ सिक्दै सही दिशामा अघि बढ्नु आजको आवश्यकता भएको बताएकी छन् ।

शनिबारदेखि सुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उपप्रमुख डंगोलले शहीद सप्ताहलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई आत्मसमीक्षा र जिम्मेवारी बोध गर्ने अवसरका रूपमा लिनुपर्ने बताइन् ।

उनले इतिहासलाई पढ्ने वा पाठ्यक्रममा सीमित गर्ने विषय मात्र नभई त्यसलाई मनन गरेर व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन् । इतिहासले जनताका लागि काम गर्न, अन्यायविरुद्ध आवाज उठाउन र सदैव कर्मठ रहन प्रेरणा दिने उनको भनाइ थियो ।

उपप्रमुख डंगोलले भनिन्, ‘शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रूपमा मात्र होइन, जिम्मेवारी बोध गर्ने दिनका रूपमा पनि लिनुपर्छ । इतिहास किताबका पानामा सीमित हुनुपर्ने विषय होइन, स्मरण गरेर जीवनमा उपयोग गर्नुपर्ने कुरा हो । इतिहासबाट सिकेर जनताका लागि काम गर्नु आजको आवश्यकता हो ।’

उनले शहीद शुक्रराज शास्त्रीले साहित्यको माध्यमबाट समाजमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । प्रजातन्त्र स्थापनामा शास्त्रीको योगदान अविस्मरणीय रहेको बताउँदै उनले शहीदहरूको बलिदानले आजको स्वतन्त्रता सम्भव भएको स्मरण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?