तनहुँमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

लोकपथ
70
Shares

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार राति डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा गोरखा नगरपालिका–१४ निवासी ६० वर्षीय दलबहादुर थापा गम्भीर घाइते भएका थिए । घाइते थापाको उपचारका क्रममा चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ठक्करबाट थापाको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि फरार भएका ट्रक चालक मकवानपुर सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?