निर्वाचनमार्फत राष्ट्रिय एकता सुदृढ गरौँ : कृष्णप्रसाद सिटौला

लोकपथ
147
Shares

काठमाडौं । राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । आसन्न आम निर्वाचनमा राजनीतिक दलहरूले राष्ट्रिय एकता कायम हुने गरी आफूलाई प्रस्तुत गर्नुपर्ने  उनको भनाइ छ । 

शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनमा सम्बोधन गर्दै नेता सिटौलाले राजनीतिक दलहरू र सांसदहरूबिच एकता कायम हुन नसके मुलुक दिनप्रतिदिन कमजोर बन्दै जाने अवस्था आउने चेतावनी दिए । उनले निर्वाचनमा राष्ट्रिय भावनाको विकास हुने गरी प्रचार–प्रसार गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।

‘फागुन २१ गते आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सकोस्,‘सिटौलाले भने, ‘सबै राजनीतिक दल र सांसदहरूले नीतिगत तहमा एकता नगर्ने हो भने नेपाल क्रमशः कमजोर हुँदै जानेछ भन्ने मेरो ठम्याइ छ ।’

उनले हरेक राजनीतिक दलभित्र आन्तरिक एकता आवश्यक रहेको उल्लेख गर्दै समग्र राजनीतिक दलहरूबिच पनि सहकार्य र एकता अपरिहार्य भएको बताए । मेचीदेखि महाकालीसम्म, तराई, पहाड र हिमालका सबै वर्ग, क्षेत्र, जाति, लिङ्ग तथा पेसा–व्यवसायमा आबद्ध नेपालीलाई एकताबद्ध गर्न सक्ने सामूहिक राष्ट्रिय भावना विकास गर्नुपर्नेमा उनले जोड दिए ।

नेता सिटौलाले निर्वाचनका क्रममा एक अर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि देश निर्माणको स्पष्ट विचार प्रस्तुत गरेर जनताको मन जित्न उम्मेदवारहरूलाई आग्रह गरे । ‘जनतामा व्यग्रता र निराशा फैलाउने होइन, देश बनाउने सोचसहित जनताको बिचमा जानुपर्छ, ‘उनले भने ।

उनले वर्तमान सरकार अवैधानिक रहेको दाबी गर्दै त्यसलाई वैधानिकता दिनका लागि पनि निर्वाचन अपरिहार्य भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?