जेनजी अभियन्ता डा. विश्वास बस्नेतको काठमाडौं–२ मा स्वतन्त्र उम्मेदवारी

जेनजी आन्दोलनका एजेन्डालाई सदनसम्म पुर्‍याउने दाबी

लोकपथ
126
Shares

काठमाडौं । जेनजी आन्दोलनका एक अभियन्ता डा. विश्वास बस्नेतले काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । जेनजी का वास्तविक एजेण्डा कसैले नसुनेको र नबोकेको भन्दै बस्नेतले आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका योजनाकार समेत रहेका बस्नेत कोभिड–१९ महामारीका बेला भ्रष्टाचार, विसंगति र अनियमितता विरुद्ध सक्रिय भूमिका खेलेका सामाजिक अभियन्ता समेत हुन् । जेनजी अभियन्ता मिराज ढुङ्गानासँग सहकार्य गर्दै जेनजीका मुद्दाहरूलाई स्थापित गर्ने प्रयासमा बस्नेत संलग्न थिए ।

उम्मेदवारी घोषणापछि संक्षिप्त प्रतिक्रिया दिँदै डा. बस्नेतले भने, ‘जेनजी आन्दोलनको म्यान्डेट अनुसार भ्रस्टाचार नियन्त्रण र भ्रस्टचारीलाई कारबाही साथै सुशासन र सामाजिक न्यायका लागि ठोस कदम चालिन्छ भन्ने अपेक्षा थियो । तर त्यसो भएन । जेनजी आन्दोलनमा गोली चलाउनेहरु, गोली चलाउन आदेश दिने शासक प्रशासकहरुलाइ कारबाहीको दायरामा ल्याइएन । बरु यो या त्यो बहानामा पुरानै दल र तिनका नेतालाई नै सेवा हुने या सुविधा पुग्ने कामहरु भए । शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्यको नवीन रुपान्तरणका एजेन्डाहरु अलपत्र भए ।’

बस्नेतले अगाडि भने, ‘सुरु देखि नै जेनजी आन्दोलनलाई हाइज्याक गरियो । हुँदा हुँदा जेन–जी आन्दोलन नै कुनै अमुक पार्टीको थियो भन्ने भाष्य स्थापित गर्न खोजियो । फेरि पनि दलीयकरणको जातोमा आम जनता र जेनजीका मागहरु घुन पिसिए जसरी पिसिने भए पछि ती महान सहिद र घाइते योद्वाको सपना साकार पार्न म आफै पनि जेन–जी हुनुको साथै जेन–जी आन्दोलनको पहलकर्ता भएको नाताले जेजनीका आवाज सडकमा मात्रै होइन, सदनमा बुलन्द पार्नुपर्छ भनेर उम्मेदवारी दिएको हुँ ।’

बस्नेतले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत चाहानाले नभई बाध्यता र जेनजी आन्दोलनले दिएका म्यान्डेट पूरा नहुँदा उठेका सवालहरूको उत्तर खोज्ने आवश्यकता भएको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?