निर्वाचन आचारसंहिता तोड्नेलाई आयोगको चेतावनी : ‘आफैँ अनुसन्धान गरेर पनि कारबाही हुन्छ’

लोकपथ
105
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई उजुरीका आधारमा मात्र नभई आयोगको स्वअनुसन्धानबाट पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगका अनुगमन संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा प्राप्त उजुरीको अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए । उनका अनुसार उम्मेदवारी मनोनयनका क्रममा मंगलबार केही आचारसंहिता विपरीतका गतिविधि भएको आयोगको ध्यानाकर्षण भएको छ र ती विषयमा अध्ययन भइरहेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सबै सरोकारवालाको सहमतिमा आचारसंहिता जारी गरिएको उल्लेख गर्दै घिमिरेले यसको पालना गराउने र उल्लंघन भएमा कारबाही गर्न निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म अनुगमन संयन्त्र सक्रिय बनाइएको बताए । आचारसंहिता राजनीतिक दल, उम्मेदवार र मतदाता सबैले पालना गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला र १ जना अन्य समूहका उम्मेदवार रहेको आयोगले जनाएको छ । तोकिएको समयभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

राजनीतिक दल र उम्मेदवारले देखाएको संयमता र शान्तिपूर्ण वातावरणका कारण मनोनयन दर्ता कार्यक्रम सहज रूपमा सम्पन्न भएको घिमिरेले बताए । मनोनयन दर्ताको दिन देखिएको वातावरणले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको उनले बताए ।

निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम रहेको छ । प्राप्त उजुरीको छानबिन गरी संविधान, कानून तथा निर्वाचनसम्बन्धी व्यवस्था अनुसार उम्मेदवारको योग्यता परीक्षण गरिने र अयोग्य ठहरिएका उम्मेदवारको नाम सूचीबाट हटाई संशोधित नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निवेदन दिन सक्नेछन् । त्यसपछि अन्तिम उम्मेदवारको नामावली र निर्वाचन चिन्ह सार्वजनिक गरिनेछ ।

आचारसंहिताअनुसार फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्म औपचारिक चुनावी प्रचारप्रसार गर्न पाइनेछ । फागुन १८ गते रातिदेखि मौन अवधि लागू हुनेछ । मौन अवधिअघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भए पनि जुलुस, र्‍याली र आमसभा गर्न निषेध गरिएको आयोगले स्पष्ट पारेको छ ।

आगामी फागुन २१ गते १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ र ११० सिट समानुपातिकतर्फ निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?