नेपाली कांग्रेस दमकका सभापति प्रसाईँले छाडे पार्टी, बालेनलाई साथ

लोकपथ
952
Shares

काठमाडौं । झापाको दमक नगरपालिकाका सभापति प्रकाश प्रसाईँले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार दमकको सभापति र कांग्रेसको क्रियाशील सदस्यबाट समेत राजीनामा दिँदै प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ लाई समर्थन गर्ने जनाएका हुन् ।

साथै आगामी निर्वाचनमा झापा–५ मा बालेनलाई जिताउन लाग्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘म प्रकाश प्रसाईं। आज मिति २०८२ माघ ६ गतेदेखि नेपाली कांग्रेस दमक नगर सभापतिको पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गर्ने औपचारिक घोषणा गर्दछु । अब मेरो यात्रा पद, कुर्सी वा झण्डाको होइन,परिवर्तनको हो । आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार, काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

सो निर्वाचन क्षेत्र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र हो । बालेन उक्त क्षेत्रमा चुनाव लड्न जाने भएसँगै नयाँ तरंग पैदा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?