काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा स्वदेशमा उत्पादन हुने सिमेन्टको प्रयोग बढाएर आयातित अलकत्राको प्रयोग घटाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले मंगलबार मकवानपुरमा नेपाल सिमेन्ट उत्पादक सङ्घद्वारा आयोजित तथा आइपिटिएम नेपाल प्रालिको सहजीकरणमा सम्पन्न एक दिने तालिमको उद्घाटन गर्दै भने, ‘दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य छ। अलकत्राको विस्थापन गर्नु भनेको सिमेन्ट उद्योगको प्रवर्धन मात्र नभई देशको समग्र व्यापार घाटा न्यूनीकरण गर्नु हो ।’
मुख्यमन्त्री बानियाँले आगामी बजेटमा सडक पूर्वाधारको दिगो विकासतर्फ केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताएका छन् । उनले कालोपत्रे सडकको सट्टा कङ्क्रिट (ढलान) सडक निर्माणतर्फ ध्यान दिनुपर्ने पनि जोड दिए ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुका अनुसार नेपालमा ९० प्रतिशतभन्दा बढी मालसामान तथा यात्रु ढुवानी सडकमार्गबाट हुँदै आएको अवस्थामा दिगो सडक पूर्वाधार विकास अत्यावश्यक छ । प्रारम्भिक लागत केही बढी भए पनि कङ्क्रिट सडकले दीर्घकालीन रूपमा कम मर्मत खर्च, उच्च टिकाउपन र विश्वसनीयता दिने बताए । उनका अनुसार नेपालले वार्षिक ११ अर्बभन्दा बढी विटुमिन आयात गर्दै आएको छ, जुन स्वदेशी सिमेन्ट प्रयोगमार्फत प्रतिस्थापित गर्न सकिनेछ ।
तालिममा कङ्क्रिट सडक प्रविधिको महत्त्व, डिजाइन अवधारणा, प्रकार, छनोटका आधार, संरचनात्मक तत्त्व, जोइन्ट र रिइनफोर्समेन्टको भूमिका तथा निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। यसबाट नीति निर्माण, योजना, डिजाइन, सुपरिवेक्षण तथा निर्माणमा संलग्न प्राविधिक जनशक्तिलाई लाभ हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया