काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला अदालत पर्साले आज नै सहकारी ठगीको मुद्दामा रविलाई १ करोड धरौटीमा बुझाउन आदेश दिएको छ ।
अदालतको आदेश अनुसार लामिछाने पर्सामा रहेका कारण चितवनमा मनोनयन गर्न नपाएका हुन् ।
उनले पर्सा अदालतको आदेश बमोजिम धरौटी रकम बुझाएर बाहिरिएपछि सामाजिक सञ्जालमा लेख्दै आफू पूर्ण रुपमा उत्साहित हुन नसकेको बताएका छन् । उनले आफ्नो विभिन्न अदालतमा सहकारी ठगीको मुद्दा चलिरहेको बताउँदै आफू उत्साहित हुन नपाएको बताउँदै निर्वाचनपछि सबैको हिसावकिताव गर्ने भन्दै आक्रोशित बनेका छन् ।
‘देश निर्वाचनमय छ । देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकी आजै देशका तीनवटा (पर्सा, काठमाण्डौ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ । अरू अदालतको आदेश आउदै होला । पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु । चितवन–२ मा मेरा शुभचिन्तक बाटो कुरीरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफै उपस्थित हुने प्रयासमा छु । नसकेको खण्डमा वारेस मार्फत मनोनयन दर्ता हुनेछ । म माथी गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन्,’ उनले भने ।
त्यस्तै उनले पूराना राजनीतिक दलका नेताहरुप्रति आक्रोश समेत व्यक्त गरेका छन् । देशका अपराधीहरु मिलेर आफूमाथि अत्याचार गरेको दाबी गर्दै उनले सबै रसतालमा पुगेको दृश्य देखिँदै र इतिहासमा लेखिँदै गरेको समेत टिप्पणी गरे । आफूमाथि प्रतिशोध भएको दाबी गर्दै लामिछानेले त्यसको बदला तिर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू । मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ । म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु । फेरि पनि भन्छु म अभिमन्यु होइन,’ उनले भनेका छन् ।
त्यसो त आज नै लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
आफू चितवन क्षेत्र नं २ मा मनोनयनका लागि पुग्न नसकेका रविले वारेसमार्फत् उम्मेदवारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया