पार्टीलाई देउवाको अभिभावकीय भूमिकाको खाँचो छ : कांग्रेस

लोकपथ
406
Shares

काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको खाँचो रहेको बताएको छ । 

शनिबार बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले देउवाको अभिभावकिय भूमिकामा बस्न आग्रह गरेको हो । 

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार, बैठकले देउवाले पार्टीलाई पुर्‍याएका योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको छ । उनले आगामी दिनमा पार्टीमा देउवाको अभिभावकिय भूमिका निरन्तर रहने विश्वास समेत व्यक्त गरे ।

बैठकले निवर्तमान केन्द्रीय कार्यसमितिका सदस्य र अन्य अग्रज नेताहरूलाई पार्टीलाई अझ बलियो बनाउन आफ्नो तहबाट योगदान पुर्‍याउन आग्रह गरेको छ । चालिसेका अनुसार, पार्टी अब निर्वाचन केन्द्रित गतिविधिमा जोड दिँदैछ ।

उनले छोटो समय भएकाले निर्वाचनसम्बन्धी काम छिटो सम्पन्न गर्न संसदीय बोर्डको बैठक तुरुन्त बस्नेछ र उम्मेदवार छनोट लगायतका निर्णय गरेका जानकारी दिए । 

प्रवक्ता चालिसेले निर्वाचन आयोगले कांग्रेसको विधान र संविधान अनुसार आधिकारिकता प्रदान गरेकोले मुद्दा–मामिलामा नलाग्न अर्को पक्षलाई समेत आग्रह गरेको बताए । देउवा पक्षका नेताहरूले शनिबारको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेका थिए ।

बैठकले पार्टीलाई ऐतिहासिक रूपमा मजबुत बनाउन सबै तहका नेताहरूलाई सक्रिय योगदान पुर्‍याउन आग्रह गर्ने विशेष निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?