गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय

लोकपथ
1.3k
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकताको मान्यता दिएको छ ।

शुक्रबार साँझ बसेको आयोगको बैठकले विशेष महाधिवेशनबाट गगनको नेतृत्वमा आएको नयाँ कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको हो ।

गत पुस २७ गतेबाट ३० गतेसम्म नेपाली कांग्रेसको विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनबाट गगन थापासहित केन्द्रीय कार्यसमिति चयन भएसँगै बिहीबार अध्यावधिकका लागि सो समूह अयोग पुगेको थियो ।

तर यता संस्थापन पक्षले समेत उक्त विशेष महाधिवेशन भेला मात्रै रहेको भन्दै आधिकारिक कांग्रेस आफूहरु रहेको दाबी गर्दै शुक्रबार निर्वाचन आयोग पुगेको थियो ।

आज दिनभरजसो दुवै पक्षले आयोगमा छलफल गरेका थिए ।

त्यसो त संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा पत्रकार सम्मेलन गरी आफूहरु अनुकुल निर्णय नआए देशभर आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

खासगरी जेनजी आन्दोलनपछि राजनीतिक दलहरुमा नेतृत्व परिवर्तनको बहस चल्यो । कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस चलिरहँदा नियमित महाधिवेशन वा विशेष महाधिवेशनको बहस सुरुबाटै चलेको थियो ।

तत्कालीन महामन्त्री रहेका गगन थापा र विश्वप्रकाश शर्माले हस्तक्षर अभियान नै चलाएर विशेष महाधिवेशनको माग गरेका थिए । ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए । तर नियमित महाधिवेशनको सम्भावना रहेको भन्दै पुसको अन्तिम साता १५औँ महाधिवेशन गर्ने भनिएको थियो । तर क्रियाशील विवादका नाममा तल्लो तहको अधिवेशन हुन नसकेको भन्दै आगामी वैशाखका लागि नियमित महाधिवेशन बोलाउने निर्णय समेत कांग्रेसको कार्यसम्पादन समितिको बैठकले गरेको थियो । तर तत्कालीन महामन्त्रीद्वयले उक्त निर्णयमा आपत्ति जनाउँदै विशेष महाधिवेशनको आयोजना गरेका हुन् ।

यता संस्थापन पक्षले भने विधानले केन्द्रीय कार्यसमितिले मात्रै विशेष महाधिवेशन बोलाउने भन्दै आफूहरुले त्यसलाई नमान्ने अडान राख्दै आइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?