‘निर्वाचन निष्पक्ष हुन्छ भन्ने विश्वास अझै छैन’

लोकपथ
154
Shares

 काठमाडौं । नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न हुने विषयमा अझै आशंका रहेको जनाएको छ ।

शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराईले निर्वाचनलाई भयरहित र निष्पक्ष ढंगले सम्पन्न गर्न आयोगले कस्तो तयारी गरेको छ भन्ने प्रश्न उठाएका हुन् ।

उनले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन प्रणाली मजबुत हुनुपर्ने आवश्यकता औँल्याउँदै यसतर्फ आयोगको ध्यानाकर्षण गराए । विगतका निर्वाचनहरूमा आचारसंहिता प्रभावकारी रूपमा लागू हुन नसक्दा निर्वाचन प्रक्रिया सहज नबनेको स्मरण पनि उनले गराए ।

सचिव भट्टराईले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मोनिटरिङ सिस्टम के हो ? प्रभावकारी अनुगमन नहुँदा आचारसंहिता कार्यान्वयनमा कमजोरी देखिएको छ । यसले निर्वाचन सहज हुन सकेको छैन । विशेष गरी पैसाको चलखेल र ‘मनी मसल’ प्रयोग नियन्त्रण गर्न आयोग कति तयार छ भन्ने प्रश्न अझै कायम छ।’

उनले उम्मेदवारहरू ढुक्कका साथ जनतामाझ जान पाउने वातावरण अझै सुनिश्चित भई नसकेको एमालेको धारणा रहेको बताए । कुनै पनि प्रलोभन वा दबाबबिना निष्पक्ष निर्वाचन हुनसक्ने विश्वास दिलाउने जिम्मेवारी निर्वाचन आयोगकै काँधमा रहेको उनले उल्लेख गरे ।

साथै, सचिव भट्टराईले निर्वाचन प्रचार–प्रसार सम्बन्धी आचारसंहितामा उल्लेख गरिएका केही व्यवस्था व्यवहारिक नरहेको भन्दै त्यसलाई पुनरावलोकन गर्न आयोगलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?