पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको देउवा पक्षको दाबी, आयोग कार्यालय पुगेर बुझायो कागजात

८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको पूर्णबहादुरको दाबी

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरूले आज निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् ।

निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू डा. शशांक कोइराला, शेखर कोइराला, मीन विश्वकर्मा, नैनसिंह महरलगायतका पुगेका थिए । 

यसअघि बिहीबार गगनकुमार थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । विशेष महाधिवेशन पक्षधर कांग्रेसले थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन भएको जानकारी निर्वाचन आयोगलाई गराएको  थियो ।  महाधिवेशनले चयन गरेको कार्यसमिति तथा अन्य निर्णय दल दर्ता किताबमा अद्यावधिकका लागि पत्र पनि कांग्रेसले आयोगमा बुझाएको थियो । 

आज आयोग पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिंगो केन्द्रीय समिति अहिले निर्वाचन आयोग आएको बताउँदै आधिकारिक आफूहरू नै रहेको बताएका थिए 

नेता कोइरालाले आयोगका पदाधिकारीहरूसँग भने, ‘सिंगो केन्द्रीय समिति र सदस्य यहाँ छन्, केही चोइटिएर गए होलान् ।’ 

कोइरालाले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा आफूहरूसँग रहेको पनि बताए । ’विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ,’ कोइरालाले भने ।

उनले निर्वाचन आयोगलाई व्यक्तिभन्दा पनि संस्था हेर्न आग्रह गरेका थिए ।

उनीपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८ सय ८५ जनाले फिर्ता लिएको दाबी गरेका थिए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए ।

कार्यवाहक सभापति खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर त्यसलगत्तै निर्वाचन आयोगमा जानकारी गराइएको पनि बताएका थिए । ‘गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले ५ वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिसकेको र त्यसको जानकारी आयोगलाई पठाइसकिएको छ,’ उनले भनेका थिए ।

उनले तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता छानबिन समिति रहेको र उक्त समितिले केन्द्रीय समिति र सभापतिलाई क्रियाशील सदस्यता सूची नबुझाएकोले नियमित महाधिवेशन हुन नसकेर वैशाखमा सार्नुपरेको पनि बताएका थिए । साथै केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको उनको भनाइ थियो ।

विधानमा केन्द्रीय समितिले सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्थासमेत रहेको भन्दै उनले आफूहरू नै १४ औं महाधिवेशनबाट निर्वाचित तथा आधिकारिक पार्टी रहेको दाबी गरेका थिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली  र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताएका थिए । 

‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौँ । हाम्रा नजिर र परम्परा पनि हेर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?