महामन्त्रीद्वयसँगको बैठक सकियो, प्रतिनिधिसभा उम्मेदवारको टिकटमा हस्ताक्षर अर्कैले गर्ने व्यवस्था गर्न देउवा तयार

लोकपथ
4.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल सकिएको छ । सभापति देउवाको निवास महाराजगन्जमा भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेन । यद्यपि, दुवै पक्षबीच पुनः वार्ता बस्ने सहमति भने भएको छ । 

महामन्त्रीद्वयसँगको छलफलमा सभापति देउवाले कानुनले मिल्ने भए अर्कै नेताको हस्ताक्षर गर्ने व्यवस्था गर्न आफू तयार रहेको बताएका थिए । विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारलाई पार्टीले टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको भनी बताएको  जनाइएको छ । 

‘माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा पार्टीका साथीहरूले उम्मेदवारी दर्ता गर्नुभएको छ, फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा सभापतिको हैसियतमा मैले नै हस्ताक्षर गरेको छु। अब प्रत्यक्षतर्फको निर्वाचनमा अर्कै साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन मिल्छ कि मिल्दैन, त्यो कानुनी रूपमा निर्क्योल गरौँ, म तयार छु’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

छलफलमा देउवाले वैशाखमा तय गरिएको १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने निश्चित भइसकेकोले अहिले नै नेतृत्व परिवर्तनको कुरा नउठाउन महामन्त्रीद्वयलाई आग्रह गरेका थिए । उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बैशाख २८ देखि ३१ गतेसम्म १५औ महाधिवेशन गर्ने निर्णय गरिसकेकाले त्यतिबेलासम्म धैर्य गर्न पनि आग्रह गरेका थिए । 

देउवाको भनाइ सुनिसकेपछि महामन्त्रीहरू साथीहरूसँग छलफल गर्नुपर्छ भनी देउवा निवासबाट बाहिरिएका छन् । 

उता, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे सुरु हुने भनिए पनि अझै बस्न सकेको छैन । यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरू भेला हुन थालेका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?