त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन, बस सिमलताल दुर्घटनाकै हुन सक्ने आशंका

लोकपथ
245
Shares

काठमाडौं । तनहुँको आबुँखैरेनी गाउँपालिका-५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।

उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी  दिए । 

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ । 

घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले  बताए । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?