बदलिँदो परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन विशेष महाधिवेशन अपरिहार्य : महामन्त्रीद्वय

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको महाधिवेशन दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ ।

उद्घाटन अघि बिहान ११ः०० बजे काठमाडौंका विभिन्न क्षेत्रसुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोलबाट नेता तथा कार्यकर्ता र्‍यालीसहित भृकुटीमण्डप प्रस्थान गर्ने आयोजक समितिले जनाएको छ । उद्घाटन सत्रका लागि ५० जना अतिथि बस्ने गरी मञ्च निर्माण गरिएको छ भने मञ्च अगाडि छ हजारभन्दा बढी कुर्सीहरू राखिएको छ । मञ्च वरिपरि कांग्रेसको झण्डा, ब्यानर र प्रचार सामग्रीले सजाइएको छ ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन् । अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन । मुलुकभरबाट प्रतिनिधिहरू भृकुटीमण्डप पुगिसकेका छन् । महाधिवेशन प्रतिनिधिहरूको लागि आयोजनास्थलमै खाना र नास्ताको व्यवस्था गरिएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ भने थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्था मिलाइनेछ ।

महाधिवेशनको उद्घाटनपछि बन्द सत्र पुस २८ गते बिहान भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्द सत्रमा छलफल हुने नीतिगत दस्ताबेजका विषयहरू हाल सार्वजनिक गरिएको छैन ।

महमन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन बोलाउनु कानुनी बाध्यता भएको र पार्टीलाई जीवन्त राख्नका लागि प्रतिनिधिहरूलाई आह्वान गरेको उल्लेख गरेका छन् । उनीहरूले भनेका छन्, ‘बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुरूप नीति निर्माण गर्न र नयाँ नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माण गर्न विशेष निर्णय लिनु अपरिहार्य छ ।’

थापा र शर्माले जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीलाई एक ढिक्का राख्न कटिबद्ध रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?