विशेष महाधिवेशन उद्घाटनअघि काठमाडौंका ६ स्थानबाट जुलुस निकाल्दै कांग्रेस

लोकपथ
231
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन पक्षको चर्को असहमति र विरोधका बिच आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ । विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन आयोजना हुन लागेको हो ।

महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भव्य समारोहका बिच हुने तय गरिएको छ । उद्घाटनलाई शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गर्न आयोजकले बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन् ।

पहिलो जुलुस सुन्धाराबाट सुरु हुनेछ । यसमा चितवन, अर्घाखाँची, सुदूरपश्चिमका जिल्लाका साथै काठमाडौं क्षेत्र नम्बर ८, ९ र १० का कार्यकर्ता सहभागी हुनेछन् । जुलुस वीर अस्पताल र रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।

नुवाकोट, रसुवा र धादिङका कार्यकर्ता रत्नपार्कमा भेला भएर कार्यक्रम स्थल प्रवेश गर्नेछन् । तेस्रो जुलुस पद्मकन्या क्याम्पसबाट सुरु भई पुतलीसडक हुँदै आउनेछ, जसमा बाँके, बर्दिया, मधेस प्रदेशका जिल्ला तथा काठमाडौं क्षेत्र नम्बर ५, ६ र ७ का कार्यकर्ता सहभागी हुनेछन् ।

त्यस्तै, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक तथा काठमाडौं क्षेत्र नम्बर २ र ३ का कार्यकर्ता शंकरदेव क्याम्पसमा भेला भएर भृकुटीमण्डप पुग्नेछन् । कमलपोखरीबाट सुरु हुने जुलुसमा काठमाडौं क्षेत्र नम्बर १ र ४ का कार्यकर्ता सहभागी हुनेछन् ।

छैटौँ जुलुस ललितपुर र मकवानपुरका कार्यकर्ताले कुपण्डोलबाट सुरु गर्नेछन् । उक्त जुलुस थापाथली, त्रिपुरेश्वर र रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्ने कार्यक्रम छ ।

पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशनलाई वैधानिकता नदिने बताइरहेका छन्  । तर विशेष महाधिवेशन पक्षधरहरूले पार्टी सुधार र संगठन सुदृढीकरणका लागि यो महाधिवेशन अनिवार्य भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?