राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल आजको अवस्थासम्म आइपुग्न हाम्रा पूर्वजहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले स–साना टुक्रामा विभाजित राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारे ।

‘पृथ्वीनारायण शाहलाई सम्झँदा उनले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचान स्थापना गरेको देखिन्छ,‘सन्देशमा उल्लेख छ, ‘उहाँका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् ।’

राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेशहरू मुलुकको सबल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध, धर्म–संस्कृति र परम्पराको संरक्षण, जनकल्याण, न्याय, सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मार्गदर्शक बन्न सक्ने बताए ।

उनले राष्ट्र निर्माणको अभियानलाई इतिहासका विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारण आज सार्वभौम र स्वतन्त्र नेपालका रूपमा गर्व गर्न पाएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले यही आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी र लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा संवैधानिक व्यवस्था गरिएको स्पष्ट पारे ।

‘राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,’ सन्देशमा भनिएको छ ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति पौडेलले उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?