समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न एउटा मात्रै समितिले पुग्दैन : मन्त्री इङ्नाम

लोकपथ
56
Shares

काठमाडौं ।  भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले एक्लै काम गर्न नसक्ने बताएका छन् ।

शनिबार मन्त्रालयमा सहकारी पीडितहरुसँगको छलफलमा मन्त्री इङ्नामले वर्तमान ७ सदस्यीय समितिले ४५ अर्बभन्दा बढी रकम व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको बताए ।

उनका अनुसार, २३ वटा समस्या ग्रस्त सहकारीमा कुल ४५ अर्बभन्दा बढी रकम छ र ७ सदस्यीय समितिले यसलाई छिटो समाधान गर्न सक्ने अवस्था छैन। “यसका लागि समितिमा थप सदस्य राख्नुपर्छ वा ४–५ वटा नयाँ समिति गठन गर्न आवश्यक छ, ‘उनले भने।

मन्त्री इङ्नामले समस्या समाधानमा अनुभवको कमी, अधिकारको अत्यधिकता र दक्ष जनशक्तिको अभावले अलमल सिर्जना गरेको टिप्पणी पनि गरे। समितिलाई बयान लिन, सम्पत्ति जफत गर्न र मूल्याङ्कन गर्न पूर्ण अधिकार दिइए पनि काम अपेक्षाअनुसार अघि नबढेको उनले बताए ।

हालसम्म समितिले ४ अर्ब १२ करोड रुपैयाँ मात्र व्यवस्थापन गरेको छ। बाँकी ७४ हजार ३०७ पीडित बचतकर्ताको रकम अझै व्यवस्थापन हुन बाँकी छ । मन्त्री इङ्नामले अपचलनमा संलग्न करिब एक हजार व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर मात्रै समस्या समाधान हुने दाबी पनि गरे ।

‘यदि सहकारीको रकम अपचलन गर्नेहरुलाई पक्राउ गरी कारबाहीमा ल्याइयो भने मात्र सहकारी समस्याको स्थायी समाधान सम्भव छ,‘उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?