काठमाडौं । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रस्ट पारेको छ ।
मन्त्री गुप्ताले एक कार्यक्रममा अमेरिका भ्रमणमा जान लागेको भनी मन्त्रिपरिषद् बैठकबाटसमेत स्वीकृति लिइसकेको अवस्थामा उनको भ्रमणलाई लिएर विभिन्न समाचार सार्वजनिक भएपछि गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले उनलाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रस्ट पारेको हो ।
परिषद्का प्रवक्ता सन्देश उप्रेतीले एक विज्ञप्ति जारी गरेर अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘‘गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं, साथै, परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।’
प्रवक्ता उप्रेतीले परिषद् कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम र कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन (फन्डराइजिङ) या गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिने छन् ।’
प्रवक्ता उप्रेतीले परिषद्को नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति र समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने पनि विज्ञप्तिमा उल्लेख गर्दै भनेका छन्, ‘यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरू सम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने छ ।’
मन्त्री गुप्ता मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनिएको थियो ।
अमेरिकाबाट एक विज्ञप्ति जारी गर्दै विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए अमेरिका प्रवक्ता द्रोण गौतमले ‘अमेरिकाको डालसमा कार्यक्रम आयोजना गर्ने भनिएको तर विस्तृत विवरण र सेड्युल तयार नभएको’ बताएका छन् ।
विज्ञप्तिमा उनले ‘मन्त्रीको खर्च आयोजकले नै व्यहोर्ने’ पनि लेखेका छन् । ‘कार्यक्रममा सहभागी हुनका लागि लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरिएको छ । जसबाट नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने स्पष्ट पार्न चाहन्छौं, माननीय मन्त्रीज्यूको कार्यतालिकाअनुसार टेक्ससको डालसमा आयोजना गरिने भनिएको सो कार्यक्रमको विस्तृत विवरण, सेड्युल अन्तिम भएपछि सार्वजनिक गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

आयोजकले विज्ञप्तिमार्फत ‘कार्यक्रम कहिले हुने ?’ भन्ने विषयमा केही उल्लेख गरेको छैन । तर, मन्त्री गुप्ताले भने ‘आगामी ३ माघमा आयोजना हुने कार्यक्रममा सहभागी हुने’ भन्दै मन्त्रिपरिषद्को सोमबारको बैठकबाट भ्रमण स्वीकृत गराएका छन् । नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा भने यो कार्यक्रम कतै उल्लेख छैन । विवादमा परेपछि मन्त्री गुप्ताले विवादित एनआरएनए अमेरिकालाई विज्ञप्ति जारी गर्न लगाएर कमजोरी ढाकछोप गर्न खोजेका हुन् ।
एनआरएनए अमेरिकामा विवादपछि दुई समिति अस्तित्वमा छन् । संस्थापक संलग्न एउटा सङ्घको नेतृत्व अर्जुन बन्जाडे र अर्को सङ्घको नेतृत्व उप्रेतीले गरेका छन् । उप्रेतीको संस्थाका अध्यक्षलगायत पदाधिकारी भने टेक्ससमै बसोबास गर्ने छन् ।
गुप्ता सहभागी हुने भनिएको तर मिति नै तय नभएको कार्यक्रम पनि टेक्ससको डालसमा हुने भनिएको छ । उप्रेती नेतृत्वको एक सङ्घ पदाधिकारीका अनुसार कार्यक्रम विषयमा समितिमा छलफल भएको र छलफलले मन्त्री गुप्ताको समयअनुसार कार्यक्रम तय गर्ने सहमति बनेको हो । उनका अनुसार अहिलेसम्म आयोजकले कार्यक्रमको मिति तय गरेको छैन ।
‘नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाएर मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु पदीय दुरुपयोग भएको’ भन्दै चौतर्फी विरोध जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले समेत यस विषयमा ‘ध्यानाकर्षण भएको’ बताएकी छन् ।
अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री गुप्ताले स्वीकृत गराएको अमेरिका भ्रमण सरकारको सदाचार नीतिविपरीत छ । गत ५ असोजमा मन्त्रिपरिषद् बैठकको निर्णय भन्दै सार्वजनिक गरेको सदाचार नीतिमा राष्ट्रका लागि अत्यावश्यकबाहेक कुनै पनि विदेश भ्रमण नगर्ने उल्लेख छ । आयोजक र कार्यक्रमको अस्तित्वकै विषय विवादमा रहने यो भ्रमण ‘कसरी अत्यावश्यक भयो ?’ भन्ने विषय पुष्टि हुन नसक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी बताउँछन् ।
‘सरकारले पारित गरेको सदाचार नीतिले अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने भनेको समय सम्बन्धित देशको सरकार वा कुनै आधिकारिक निकायबाट आएको औपचारिक निम्तो नभई अनौपचारिक प्रकृतिको भ्रमणमा मन्त्रीको हैसियतमा सहभागी हुनु गैरकानुनीसँगै नैतिक हिसाबले पनि गलत हो,’ ती कर्मचारी भन्छन् ।
गृहमन्त्रीलाई अध्यागमनद्वारा ध्यानाकर्षण
मन्त्री गुप्ता सहभागी हुने भनिएको अमेरिकाको कार्यक्रमका लागि नेपालबाट अरू व्यक्ति पनि सहभागी हुन लागेको आशंकामा अध्यागमन विभागदेखि गृह मन्त्रालयसम्मले चासो देखाएका छन् । अध्यागमन अधिकारीले सम्भावित कार्यक्रम र त्यसमा सहभागी हुने भनिएका व्यक्ति’बारेमा चासो लिन गृहमन्त्री ओमप्रकाश अर्यालसम्मको ध्यानाकर्षण गराएका छन् । ‘यस्ता कार्यक्रममा मन्त्रीको मात्रै भ्रमण स्वीकृति भए पनि कार्यक्रममा सहभागी हुने नाममा अन्य व्यक्ति पनि हुन सक्नेतर्फ सजग हुन सम्बन्धित निकायमा रिपोर्टिङ गरेका छौं,’ अध्यागमनका एक उच्च अधिकारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया