काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज आइतबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ ।
आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय कार्यसम्पादन समिति बैठकले गरेपछि देखिएको विवाद समाधानको उपाय खोज्न बैठक बोलाइएको हो ।
पुस २६ देखि २८ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार काम नभएपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति बहुमतले सारेको थियो । सो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत मात्रै राखेका छैनन्, महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकको निर्णयलाई चुनौती दिँदै पुस मसान्तभित्रै पार्टीको विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गरेका छन् ।
कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिनामा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । कांग्रेसका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । त्यही व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउनु पर्ने महामन्त्री थापाको भनाइ छ । संस्थापन पक्षले भने मंसिर १५ गते नियमित महाधिवेशनको मिति तोकिएपछि विशेष महाधिवेशन माग गरेका हस्ताक्षर निष्क्रिय भइसकेको दाबी गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया