काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।
शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
त्यसो त अपरान्ह ३ बजेका लागि बैठक बोलाइएको थियो । तर झण्डै २ घण्टा ढिला गरी बैठक सुरु भएको हो ।
महाधिवेशनसम्बन्धी जारी विवादका बीच यो बैठक महत्वपूर्ण मानिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए ।
उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ ।
यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए ।
संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ भने विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् । बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
पार्टीभित्रको यो विवादले आगामी निर्वाचनअघि कांग्रेसको नेतृत्व र रणनीतिमा प्रभाव पार्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया