काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गत मंसिर २६ गते संगठनबाट युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएन मिसन) मा आगामी बैशाखमा जाने आफ्ना कर्मचारीहरूको १ सय ७८ जनाको प्रारम्भिक सूची सार्वजनिक गर्दा त्यसमा ७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को पनि नाम उल्लेख छ ।
त्यस दिन एफपीयूको रूपमा कार्यरत १२औँ टोलीको बदलीका लागि खटिई जाने सशस्त्र प्रहरी कर्मचारीहरूको ‘सशस्त्र प्रहरी बलमा यूएन एफपीयू मिसन छनौट (दोस्रो संशोधन) निर्देशिका, २०७३’ बमोजिम परिशिष्ट ‘क’ र परिशिष्ट ‘ख’ अनुसार प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो । छनौटमा परेका ७ जना डीएसपीमध्ये हुम्ला, मुस्ताङ, खोटाङ र पाँचथरका गुल्मपति पनि छन् । उनीहरूसहित सबै जना अहिले ककनीस्थित यूएन तालिममा तीन महिने तालिम गरिरहेका छन् ।


तर आफूलाई यूएन मिसनमा पारिएको भन्दै नम्बर ४४ गुल्म हुम्लाका तत्कालीन गुल्मपति कवीन्द्र महर्जनले साथीभाइ, सहकर्मीमाझ चर्को असन्तुष्टि पोख्ने गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार, उनले आफूलाई यूएन मिसनमा अहिले नपठाउन शक्तिकेन्द्र नगुहारेका पनि होइनन् । तर उनको केही जोड चलेन ।

गत साउनदेखि कर्णाली प्रदेशको विकट पहाडी/हिमाली जिल्ला हुम्लाको गुल्मपतिको जिम्मेवारी सम्हालेका महर्जन ‘सिनियर’ भएका कारण यूएन मिसनमा छनौट भएका हुन् । तर उनले अहिले मिसनमा जान नखोज्नुको मुख्य कारण हुम्लाको गुल्मपतिको एक बर्से कार्यकाल पूरा गर्न खोज्नु नै हो । यसमा पनि उनको स्वार्थ के हो भने– हुम्लाको गुल्ममा सशस्त्र प्रहरीको आर्थिक प्रशासन महाशाखाले व्यापक बजेट छुट्याएको छ । सोही बजेटको लोभमा उनले अहिले मिसनमा नजाने इच्छा जाहेर गरेका हुन् ।
स्रोतका अनुसार, सशस्त्र प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाले सो गुल्ममा खन्याएको बजेट र रासनबाट त्यहाँको गुल्मपतिको मासिक कमाइ नै ८ लाख रुपैयाँ भन्दा बढी हुने गरेको छ । तर, मिसनको एक वर्षको कमाई २० लाख रुपैयाँभन्दा पनि हुँदैन । त्यसो त आर्थिक संकटका कारण यूएनले समेत मिसनमा खटिनेको दैनिक भत्ता नै घटाउँदै गरेको अवस्था छ ।
हाल ककनीस्थित यूएन तालिम केन्द्रमा तालिम गरिरहेका डीएसपी महर्जन अबको केही सातापछि २१ दिने तालिम गर्न इटाली जाँदैछन् । उनले नेपाल र इटाली गरी तीन महिने तालिम समापन गर्नेछन् ।
डीएसपी महर्जनलाई अहिले यूएन मिसनमा पठाउनुको अर्को कारण पनि छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गत पुस १३ गते गरेको ११ जना डीएसपीको सरुवाले उनलाई अहिले नै किन यूएन मिसनमा पठाइँदै छ भन्ने पुष्टि गर्छ ।


पुस १३ गते गरिएको सरुवा सूचीअनुसार, डीएसपी महर्जनलाई नम्बर ४४ गुल्म हे.क्वा. हुम्लाबाट नम्बर ६ गण हे.क्वा.सप्तरीमा पठाइएको छ । ४४ नम्बर गुल्म हुम्लामा भने मानवस्रोत विभागको दरबन्दीमा रहेर साढे ३ वर्षदेखि कर्मचारी प्रशासन शाखा हाँक्दै आएका डीएसपी नन्दबहादुर साउदलाई सरुवा गरिएको छ । त्यस दिन गरिएको ११ जना डीएसपीको सूची हेर्दा गुल्मको जिम्मेवारी पाउने एक मात्र ‘भाग्यमानी अधिकृत’ साउद बनेका छन् । साढे ३ वर्षदेखि कर्मचारी प्रशासन शाखाको जिम्मेवारीमा रहेका साउदको ‘व्यवस्थापन’ कै लागि डीएसपी महर्जनलाई यूएन मिसनमा पठाइएको सहजै बुझ्न सकिन्छ ।
स्रोतका अनुसार, पुस १३ मा सरुवा गरिएका यी ११ जना डीएसपीलाई ‘माघ १ देखि सरुवा गरिएको कार्यालयबाट तलब भत्ता तथा रासन पाउने’ भनिएको भएपनि डीएसपी साउद अझै २ महिना त्यहाँ जाने छैनन् । यो अवधिमा सो गुल्म सशस्त्र प्रहरी निरीक्षकको निमित्त कमान्डमा चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया