विशेष महाधिवेशनमा जुटे गगन–विश्व, हलसमेत बुकिङ गरियो

लोकपथ
511
Shares

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले तयारी तिव्र पारेका छन् ।

आगामी पुस २६ गतेबाट पार्टीको १५औँ महाधिवेशन गर्ने घोषणा भएको थियो । तर घोषित मितिमा नियमित महाधिवेशन नहुने भएसँगै महामन्त्रीद्वय विशेष महाधिवेशनका लागि लागेका हुन् । त्यसका लागि हलसमेत बुकिङ गरिएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हल बुकिङ गरिएको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले लोकपथलाई जानकारी दिइन् । उनका अनुसार आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना हुनेछ ।

‘आगामी पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छौँ । त्यसका लागि हामीले भृकुटीमण्डपस्थित प्रदर्शनी हल बुक गरेका छौँ,’ गौतमले लोकथपसँग भनिन् ।

नेपाली कांग्रेसको विधानमा अघिल्लो महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित माग गरेमा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेको छ । तर यसअघि नै ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित पार्टी नेतृत्वसँग विशेष महाधिवेशनको माग गरिसकेका छन् । गत असोज २९ गते नै विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझाइएको थियो ।

यता महामन्त्रीद्वय थापा र शर्माले पार्टीको नियमित महाधिवेशन गर्ने तर नियमित महाधिवेशन सम्भव नभएमा विशेष महाधिवेशन गर्ने बताएका थिए । सो अनुसार गत मंसिर १५ गते सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले आगामी पुस २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको थियो । जसअनुसार पुस १६ गते गाउँ, वडा र नगर अधिवेशनको मिति तोकिएको थियो । तर तोकिएको मिति अनुसार विशेष महाधिवेशनको कार्यतालिका अघि नबढेपछि विशेष महाधिवेशन गर्न लागिएको हो ।

यता कांग्रेसको संस्थापनले भने पार्टीमा विशेष महाधिवेशन सम्भव नभएको प्रतिक्रिया दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?