यथास्थितिवाद र परिवर्तनबिच संघर्ष चलिरहेको छ : प्रचण्ड

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जिम्मेवार ढंगले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश दिँदै उनले देश र जनताप्रति जिम्मेवार भएर राजनीतिक परिवर्तन आवश्यक रहेको बताए। 

उनले पार्टीले आफ्ना सबल र कमजोर पक्षको समीक्षा गर्दै सच्चिएर अघि बढ्ने प्रतिबद्धता व्यवहारमा उतारिरहेको बताए ।

प्रचण्डका अनुसार अहिले यथास्थितिमा बसिरहने सोच र परिवर्तन चाहने धारबिच संघर्ष जारी छ । यस्तो अवस्थामा जिम्मेवारीपूर्वक परिवर्तनतर्फ अघि बढ्नु आवश्यक भएको उनको भनाइ छ । 

उनले सन् २०२५ मा जेनजी युवापुस्ताले सुरु गरेको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ संकेत दिएको उल्लेख गरे । यस आन्दोलनले पुराना संरचना, कार्यशैली र परिपाटी सुधार गर्नुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ ।

प्रचण्डले वर्तमान तरल राजनीतिक अवस्थामा अग्रगामी शक्तिबिच आपसी समझदारी र राष्ट्रिय एकता आवश्यक रहेको बताए । उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउनु सबैको साझा दायित्व भएको पनि उल्लेख गरे ।

उनले नयाँ वर्ष २०२६ ले सबै नेपालीका लागि राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको बाटो खोलोस् भन्ने शुभकामना दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?