काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ। नयाँ वर्ष २०२६ को अवसरमा यो पात्रोअनुसार चाडपर्व मान्नेहरूले एक–आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
ग्रेगोरियन पात्रो सौरमासको आधारमा निर्माण गरिएको बताइन्छ। तर, सौरमासको मात्र आधारमा तयार भएकाले यो पूर्ण रूपमा वैज्ञानिक नभएको आलोचकहरूको भनाइ छ । विभिन्न संवत्को अध्ययन–अनुसन्धानमा संलग्न डा.शास्त्रदत्त पन्तका अनुसार सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि सुरु भएको विक्रम संवत् जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको छ ।
एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुने भए पनि दिनभन्दा साना एकाइहरू गणनामा समेट्न कठिन भएकाले व्यवहारमा उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विक्रम संवत्का आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ। इस्वी सन्को पात्रोमा ‘लिप इयर’ को माध्यमबाट त्यसलाई व्यवस्थापन गर्ने प्रयास भए पनि यसबारे पश्चिमा देशमै पनि पूर्ण मतैक्यता हुन नसकेको डा.पन्तले बताए ।
पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ को अवसरमा विदेशी पर्यटकको बढी उपस्थिति हुने काठमाडौंका ठमेल, बौद्ध तथा उपत्यकाबाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया