वर्तमान सरकारको मुख्य उदेश्य निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

लोकपथ
49
Shares

मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा हराएका तथा लुटिएका हतियार र बन्दीगृहबाट फरार भएका कैदीलाई आगामी फागुन २१ गतेअगावै नियन्त्रणमा ल्याइसक्ने दाबी गरेका छन् ।

गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले फरार अधिकांश कैदी बन्दी सम्पर्कमा आइसकेको र बाँकीलाई विशेष अभियानमार्फत यथाशीघ्र नियन्त्रणमा लिइने बताए ।

उनले राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा औँल्याएकोप्रति सरकार गम्भीर र संवेदनशील भएर काम गरिरहेको उल्लेख गरे । ‘दलहरूसँगको संवाद र वार्तामा सरकार जिम्मेवार र उत्तरदायी रूपमा अघि बढिरहेको छ,‘उनले भने ।

गृहमन्त्री अर्यालका अनुसार भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकारले विभिन्न सुरक्षा संयन्त्र निर्माण गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधिभर र निर्वाचनपश्चात् समेत प्रदेश सरकारको सक्रिय सहभागितामा सुरक्षा व्यवस्थापन गरिने उनले जानकारी दिए ।

उनले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको उल्लेख गर्दै भने, ‘निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्‍याएर शासनलाई वैधानिकता दिन्छ । निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुन्छ, त्यसैले निर्वाचनको विकल्प छैन ।

निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने म्यान्डेटसहित गठन भएको नागरिक सरकार तोकिएको मितिमै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको गृहमन्त्री अर्यालको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैरदलीय सरकारले तटस्थ रूपमा निर्वाचन गराउनुपर्नेमा जोड दिए । निर्वाचन आउन दुई महिना मात्र बाँकी रहेकाले त्यसअनुसारको वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मीको मनोबल उच्च बनाउन आवश्यक साधन स्रोत उपलब्ध गराउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

उद्घाटन कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले समेत सम्बोधन गरेका थिए ।

सुरक्षा बैठकमा नेपाली सेनाका बलाधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?