आज राप्रपा र राप्रपा नेपालबिच एकता हुँदै

लोकपथ
140
Shares

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा आज पुनः राप्रपामै फर्कन लागेका छन् । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी छाडेका थापाले त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) गठन गरी सक्रिय राजनीति गर्दै आएका थिए ।

आज दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा राप्रपा र राप्रपा नेपालबिच एकता घोषणा समारोह आयोजना हुँदैछ । यही कार्यक्रममार्फत दुवै पार्टी औपचारिक रूपमा एकीकरण हुँदैछन् । यसअघि अध्यक्ष लिङ्देन र कमल थापाबिच दुई बुँदे एकता सहमति भएको थियो, जसलाई राप्रपा नेपालको बैठकले पनि अनुमोदन गरिसकेको छ ।

झण्डै चार वर्षपछि दुई राष्ट्रवादी धारका पार्टीहरू एक ठाउँमा आउन लागेका हुन्  । राप्रपा अध्यक्ष लिङ्देनले एकतापछि राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक भूमिका दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एकताको सहमतिपछि राप्रपा नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा नपठाएको जनाएको छ । यस्तै, राप्रपाले पेस गरेको बन्द सूचीमा पनि कमल थापा पक्षका नेताहरू समेटिएका छैनन् ।

एकतापछि राप्रपा अझ सशक्त राष्ट्रवादी शक्ति बनेर अघि बढ्ने दुवै पक्षको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?