काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षौँ काम नभएका ठेक्का तोड्नु सरकारको बाध्यता भएको बताएका छन् ।
सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले कम बजेटमा ठेक्का लिने र काम नगर्ने अवस्थाले जनतालाई दुःख पुगेको बताए ।
मन्त्री घिसिङले सबै निर्माण व्यवसायी गलत नभएको उल्लेख गर्दै समयमा काम गर्ने व्यवसायीलाई निरन्तर प्रोत्साहन दिइरहेको जानकारी दिए । साथै, निर्माणसँग सम्बन्धित केही ऐन र नियामावलीमा संशोधन गर्ने तयारी भइरहेको पनि उनले बताए ।
उनले भने, ‘नेपालमा निर्माण व्यवसायी विना देशको समग्र विकास सम्भव छैन । विकास बजेट खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुन्छ । त्यसैले निर्माण व्यवसायीको क्षमता विकासमा ध्यान दिन आवश्यक छ ।’
सडक बोर्डमार्फत कामको माग धेरै हुने गरेको बताउँदै मन्त्री घिसिङले बजेट सीमित भएकाले सबै माग अनुसार काम गर्न समस्या हुने बताए ।
उनले संघीयताको मर्म नबुझ्दा सडक मर्मत काममा समेत चुनौती आएको र स्थानीय तह तथा प्रदेशको मर्मतका सडक संघीय सरकारको अनुमतिबिना काम नहुने अवस्था देखिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया