ईभी र पेट्रोल ट्याक्सीमध्ये कुन चलाउँदा बढी फाइदा ? यस्तो छ खर्च र आम्दानीको हिसाब

ईभी ट्याक्सीमा ३९ प्रतिशत नाफा आउँदा पेट्रोलमा केवल ३ प्रतिशत मात्रै !

लोकपथ
490
Shares

काठमाडौं । कुनै जमाना थियो, ट्याक्सी भनेपछि साना थोत्रा र कम क्षमतामा मारुती ८०० मोडेलका साना कार चल्थे । काठमाडौं उपत्यकामा मात्रै होइन, पोखरा लगायतका क्षेत्रमा पनि त्यस्ता थोत्रा र कम क्षमताका ट्याक्सीले बजार लिएको थियो । नेपालमा सुजुकीको मारुती ८०० मोडेलका गाडी ट्याक्सीका रूपमा परिचित थिए ।

तर अहिले समय फेरिएको छ । अहिले ट्याक्सी भन्ने वित्तिकै सेतो लामो ईभी कारको तस्बिर बाहिर आउँछ । मारुती ८०० बाट बिस्तारै अल्टो, टाटाको इन्डिका र हुन्डाईको इओएन हुँदै यतिबेला सुविधा सम्पन्न र लक्जरी कार टाटाको एक्सप्रेस टी ईभी ट्याक्सीसमेत बजारमा आइसकेको छ ।

बागमती प्रदेश सरकारको नीति अनुसार बागमती प्रदेशमा अब नयाँ आउने ट्याक्सी ईभीको सेडान अर्थात् पछाडिपटीको भागमा सामान राख्ने स्थानसमेत भएको कार आउँछ भने कम्तीमा चालकसँगै बस्ने सिटमा पनि सुरक्षाका लागि एयर ब्याग भएको हुनुपर्ने बनाएको छ । यससँगै बागमती प्रदेशमा सरकारको मापदण्डमा पर्ने टाटाको एक्सप्रेस टी र ईभी इजीको ईभी ट्याक्सी नयाँ दर्ता भइरहेका छन् । २० वर्ष कटेका भाडाका सवारीसाधन चलाउन नपाउने भएपनि केही पुराना ट्याक्सीसमेत चलिरहेका छन् भने पहिले नै दर्ता भई सञ्चालनमा आएका मारुतीको अल्टो, हुन्डाईको इओएन र टाटाको इन्डिका समेत बागमती प्रदेशमा चलिरहेका छन् ।

बागमती बाहेक गण्डकी र लुम्बिनी प्रदेशमा भने नेटाको ईभी कारसमेत ट्याक्सीको रूपमा चलिरहेको छ । गण्डकीमा अन्य कम्पनीका कारसमेत ट्याक्सीका रूपमा प्रयोग भइरहेको छ । तर बागमती प्रदेश सरकारले ल्याएको ट्याक्सीसम्बन्धी मापदण्डका कारण यहाँ ईभी र सेडान कारलाई मात्रै ट्याक्सीका रूपमा प्रयोग गर्न पाइन्छ ।

पहिले बागमती सरकारले बनाएको ट्याक्सीसम्बन्धी मापदण्ड बुझौँ ।

बागमती प्रदेश सरकारले आफ्नो प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ जारी गरी ट्याक्सीका लागि मापदण्ड समेत निर्धारण गरेर कार्यान्वयनमा ल्याइसकेको छ ।

प्रदेश सरकारले ल्याएको ऐनलाई आधार मानी बागमती प्रदेशको यातायात मन्त्रालयले २०७८ सालमा ‘सार्वजनिक यात्रुवाहक ईभी ट्याक्सी सेवाको गुणस्तर, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७८ जारी गर्‍यो ।

उक्त मापदण्डमा नयाँ ट्याक्सी दर्ता गर्दा अब पेट्रोलबाट चल्ने नभई ईभी ट्याक्सी नै हुनुपर्ने, ट्याक्सी ल्याउँदा सेडान अर्थात् पछाडिका भागमा सामान राख्न मिल्ने प्रकृतिको हुनुपर्ने, कम्तीमा ट्याक्सीको ड्राइभिङ सिटमा सुरक्षाका लागि एयर ब्याग हुनुपर्ने लगायतका बाध्यकारी व्यवस्था गरिएको थियो ।

प्रदेश सरकारले ल्याएको मापदण्डमा पुराना चलिरहेका ट्याक्सीहरूलाई २० वर्षसम्म चल्न दिने र २० वर्ष कटेका ट्याक्सीहरूको हकमा ती ट्याक्सीहरूलाई पत्रु बनाई नयाँ ट्याक्सी ल्याउन दिने र त्यस्तो ट्याक्सी ल्याउँदा इलेक्ट्रिक नै हुनुपर्ने उल्लेख छ । यद्यपि पुरानो ट्याक्सी खारेज गरी नयाँ ट्याक्सी ल्याउँदा नम्बर प्लेट भने सट्टामै पाइने व्यवस्था गर्‍यो ।

यस्त छन् ईभी ट्याक्सीको मापदण्डका मुख्य विषयहरु :
प्रदेश सरकारले साधारण र विशेष प्रकृतिको गरी दुई प्रकारका ईभी ट्याक्सी दर्ता गर्न पाइने व्यवस्था गरेको हो । साधारण ईभी ट्याक्सीमा २० केडब्लूएच वा त्यो भन्दा बढीको लिथियम आयन ब्याट्री, ३० केडब्लूएचको मोटर क्षमता वा त्योभन्दा बढी भएको सेडान कार हुनुपर्ने छ । त्यस्तै उक्त कारको ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम वा त्यो भन्दा बढी हुनुपर्ने छ ।

ट्याक्सीका रूपमा प्रयोग हुने ईभी कारले एक पटकको फुल चार्जमा न्यूनतम २ सय १० किलोमिटर रेन्ज दिनु पर्ने छ ।
त्यस्तै प्रदेश सरकारले ल्याएको विशेष प्रकृतिको ईभी ट्याक्सीमा दर्ता हुने कारले एक पटकको फुल चार्जमा न्यूनतम २ सय ७५ किलोमिटर रेन्ज दिनुपर्ने छ । यो प्रकृतिको ईभी ट्याक्सीमा प्रयोग हुने ब्याट्री लिथियम आयन हुनुपर्ने र यसको क्षमता ४० केडब्लूएच वा त्योभन्दा बढी हुनुपर्ने छ । त्यस्तै मोटरको पावर भने ५० केडब्लूएच वा सोभन्दा बढी हुनुपर्ने छ ।

डिलक्स ईभी ट्याक्सीको ग्राउन्ड क्लियरेन्स भने १ सय ७५ एमएम वा सोभन्दा बढी हुनुपर्ने छ । साधारण ईभी ट्याक्सीको सिट क्षमता ५ सिट र विशेष प्रकृतिको (डिलक्स) ईभी ट्याक्सीको सिट क्षमता ५ देखि ७ हुनेछ ।

सार्वजनिक सवारीमा विद्युतीकरण गर्ने बागमती प्रदेश सरकारको योजनाअनुसार नै पेट्रोलियम पदार्थबाट चल्ने पुराना ट्याक्सीलाई सट्टा दर्ता गर्दा पनि ईभी बनाउनुपर्ने कानूनी व्यवस्था गरेको छ । केन्द्र सरकारले पनि ईभी सवारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर सहुलियत दिँदै आएको छ ।

सोही मापदण्डका आधारमा अहिले बागमती प्रदेशमा चल्ने नयाँ ट्याक्सीहरू ईभी, आकर्षक र सुविधा सम्पन्न छन् । यद्यपि त्यस्ता ट्याक्सीहरूको खरिद मूल्य भने पेट्रोलबाट चल्ने सामान्य ट्याक्सीको भन्दा करिब ११ लाख रुपैयाँले बढी छ । सुरुमा खरिद गर्दा खर्च बढी भएपनि इलेक्ट्रिक ट्याक्सीको दैनिक सञ्चालन खर्च कम हुने, आकर्षक, सुविधा सम्पन्न समेत हुने भएकाले यतिबेला उपभोक्ताको मात्रै नभएर लगानीकर्ताको रोजाई पनि इलेक्ट्रिक ट्याक्सीमै बढी रहेको छ ।

ईभी ट्याक्सीको सङ्ख्या बढ्दै जाँदा आखिर सवारी धनीलाई कुन सवारीको प्रयोग गर्दा कति रकमको फरक पर्छ त ? के ईभी गाडी किफायती वा टिकाउ हुन्छ ? यसले वार्षिकरुपमा दिने प्रतिफल वा रिटर्न कस्तो छ त ?

आज यहाँ ईभी ट्याक्सी र पेट्रोलबाट चल्ने ट्याक्सीको खरिद मूल्य, मासिक वा वार्षिक खर्च, कर, बीमा, सर्भिसिङ आदि सबै खर्च गर्दा कुन गाडीले कति कमाउँछ र कति वर्षमा गाडी आफ्नो बनाउन सकिन्छ भनेर हिसाबकिताब देखाइँदै छ ।

पेट्रोल र विद्युत् खपत

एक दिन १४० किलोमिटर ट्याक्सी गुड्न पेट्रोलबाट चल्ने हो भने १ हजार ९५६ रुपैयाँ खर्च हुन्छ ……

ट्याक्सी चलाउँदा सबैभन्दा बढी खर्च हुने भनेको इन्धन अर्थात् पेट्रोलमा नै हो । यदि ट्याक्सी पेट्रोलबाट चल्ने हो र दैनिक १४० किलोमिटर गुड्छ भने माइलेज औसतमा १२ किलोमिटर प्रतिलिटरले दिँदा दैनिक करिब १२ लिटर पेट्रोल खपत हुन्छ । २०८२ पुस १३ गते पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ रहेको छ । जसका कारण एक दिन १४० किलोमिटर ट्याक्सी गुड्न पेट्रोलबाट चल्ने हो भने १ हजार ९५६ रुपैयाँ खर्च हुन्छ ।

अब १४० किलोमिटर प्रतिदिन चल्ने ईभी ट्याक्सीले खपत गर्ने विद्युतको कुरा गरौँ । अहिले बागमतीमा चलिरहेको टाटाको एक्सप्रेस टी ट्याक्सीको ब्याट्री क्षमता २४ किलोवाटको रहेको छ । यो ट्याक्सी एक पटक फूल चार्ज गर्दा कम्तीमा १८० किलोमिटर र बढीमा २२० किलोमिटरसम्म माइलेज दिने गरेको छ । अनि एक पटक फूल चार्ज गर्नका लागि करिब २४ युनिट विद्युत् खपत गर्छ । १४० किलोमिटर गुड्न दैनिक करिब २० युनिट विद्युत् खपत हुन्छ । दैनिक २० युनिट विद्युत् खपत हुँदा प्रतियुनिट १० रुपैयाँका दरले २ सय रुपैयाँ खर्च हुन्छ ।

यसरी पेट्रोल र ईभी ट्याक्सीको तुलना गर्दा ईभी ट्याक्सीको दैनिक सञ्चालन खर्च निकै कम हुन्छ । पेट्रोल ट्याक्सी दैनिक औसत १४० किलोमिटर चलाउँदा लगभग १ हजार ९५० रुपैयाँ इन्धनमा खर्च हुन्छ भने ईभी ट्याक्सी उही दूरी तय गर्न चार्जिङमा मात्रै २ सय रुपैयाँ खर्च लाग्छ । मासिक हिसाबले पेट्रोल ट्याक्सीको इन्धन खर्च लगभग ५७ हजार रुपैयाँ पुग्छ, जबकि ईभी ट्याक्सीको चार्जिङ खर्च ६ हजार रुपैयाँ मात्र हुन्छ ।

त्यसै गरी वार्षिक खर्च हेर्दा इन्धनबाट चल्ने ट्याक्सीको वार्षिक खर्च ६ लाख ९४ हजार रुपैयाँ हुन्छ भने विद्युतबाट चल्ने ट्याक्सीको वार्षिक खर्च ७२ हजार रुपैयाँ मात्रै हुन्छ । इन्धनको हिसाब हेर्ने हो भने एक वर्षमै इन्धनबाट चल्ने भन्दा विद्युत् वा चार्जिङ भएर चल्ने ट्याक्सीमा ६ लाख २२ हजार रुपैयाँ बचत हुन्छ । यसलाई प्रतिशतमा हेर्ने हो भने पेट्रोलबाट चल्ने भन्दा विद्युतबाट चल्ने ट्याक्सीको इन्धन खर्च ९० प्रतिशतले कम हुन्छ ।

सुरुवाती तिर्नुपर्ने रकम वा डाउन पेमेन्ट

१० प्रतिशत ब्याजदरमा गाडी किन्ने र मासिक ५० हजार रुपैयाँ किस्ता तिर्ने हो भने ५ वर्षमा गाडी आफ्नो स्वामित्वमा आउनेछ ….

ट्याक्सी किन्दा अर्को ख्याल गर्नुपर्ने कुरा हो, कुल मूल्य र डाउन पेमेन्ट । यदि तपाई अहिले बजारमा चलिरहेको टाटाको एक्सप्रेस टी ईभी ट्याक्सी किन्नुहुन्छ भने यसको मूल्य ३७ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत डाउन पेमेन्टमा गाडी किन्दा २२ लाख २० हजार रुपैयाँ ऋण लिनुपर्छ र धनीले सुरुमै १४ लाख ८० हजार रुपैयाँ बुझाउनुपर्छ ।

यदि १० प्रतिशत ब्याजदरमा गाडी किन्ने हो र मासिक ५० हजार रुपैयाँ किस्ता तिर्ने हो भने यो गाडी ५ वर्षमा आफ्नो स्वामित्वमा आउनेछ ।

अब पेट्रोलबाट चल्ने ट्याक्सीको कुरा नयाँको घोषित मूल्य २६ लाख रुपैयाँ रहँदा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा १० लाख ४० हजार रुपैयाँ सुरुमा लगानी गरी १५ लाख ६० हजार रुपैयाँ बैंकबाट ऋण पाउन सकिन्छ । त्यसैगरी मासिक ३५ हजार रुपैयाँका दरले मासिक किस्ता बुझाउँदा वार्षिक ४ लाख २० हजार रुपैयाँ बुझाइन्छ र ब्याजसमेत जोडी ५ वर्षमा गाडी आफ्नो बनाउन सकिन्छ ।

दैनिक, मासिक र वार्षिक आम्दानी

ईभी ट्याक्सीको आम्दानी स्वरोजगार व्यवसायीको हकमा प्रतिदिन ७ हजार रुपैयाँ रहेको छ । स्वरोजगारले मासिक २ लाख १० हजार रुपैयाँ र वार्षिक २५ लाख २० हजार रुपैयाँ कमाउन सक्छ …

पेट्रोल ट्याक्सीको किस्ता र डाउन पेमेन्ट कम भएपनि दैनिक सञ्चालन खर्च भने बढी छ । ईभी ट्याक्सीको डाउन पेमेन्ट र किस्ता पेट्रोल ट्याक्सीको भन्दा केही बढी भएपनि दैनिक सञ्चालन खर्च निकै कम छ । त्यसैले ईभी ट्याक्सीको सञ्चालन खर्च कम भएकाले डाउन पेमेन्ट र किस्ता तिर्दा पनि यसबाट आम्दानी बढी हुने देखिन्छ ।

ईभी ट्याक्सीको आम्दानी स्वरोजगार व्यवसायीको हकमा प्रतिदिन ७ हजार रुपैयाँ रहेको छ । स्वरोजगारले मासिक २ लाख १० हजार रुपैयाँ र वार्षिक २५ लाख २० हजार रुपैयाँ कमाउन सक्छ । ईभी ट्याक्सीको बीमा, वार्षिक कर, चार्जिङ शुल्क, चार वटा टायर फेर्न र अन्य खर्च सबै गरेर वार्षिक औसतमा १ लाख ९६ हजार रुपैयाँ छ । त्यसलाई सजिलोरुपमा हिसाब गर्दा वार्षिक २ लाख रुपैयाँ खर्चमा राख्न सकिन्छ ।

आफूले डाउन पेमेन्ट र नम्बर प्लेट खरिद गर्दा भएको खर्च अर्थात् करिब २४ लाखलाई हिसाब गर्दा त्यसबाट आउने प्रतिफल ईभीमा ३९ प्रतिशतभन्दा बढी हुन्छ …….

ईभी गाडीमा आफैँ स्वरोजगार भएमा पनि परिवार चलाउन मासिक ५० हजार रुपैयाँ घर खर्च राख्न सकिन्छ । अथवा मासिक ५० हजार रुपैयाँ दिएर चालक राखिएको सम्झनु पर्दछ । यसो गर्दा वार्षिक ६ लाख रुपैयाँ कमाइबाट घट्छ ।

त्यसैगरी बैंकबाट लिने ऋणको मासिक किस्ताबापत ५० हजार रुपैयाँ घटाउँदा वार्षिक ६ लाख रुपैयाँ खर्च हुन्छ ।

यसरी ईभी गाडीको कमाइबाट १४ लाख रुपैयाँ खर्चमा घटाउँदा ११ लाख २० हजार रुपैयाँ आफूलाई बैंकको किस्तासमेत तिरेर फिर्ता आउँछ, जुन मासिक ९३ हजार रुपैयाँभन्दा बढी हुन्छ । यो रकम आफूले डाउन पेमेन्ट र नम्बर प्लेट खरिद गर्दा भएको खर्च अर्थात् करिब २४ लाखलाई हिसाब गर्दा त्यसबाट आउने प्रतिफलमा ३९ प्रतिशतभन्दा बढी हुन्छ ।

यता पेट्रोलबाट चल्ने ट्याक्सीको कुरा गर्दा १४० किलोमिटर गुड्दा दैनिक इन्धन खर्च १ हजार ९५० रुपैयाँ, मासिक इन्धन ५८ हजार ५०० रुपैयाँ र वार्षिक इन्धन खर्च ७ लाख ११ हजार ७५० रुपैयाँ हुन आउँछ ।

त्यसैगरी वार्षिक सर्भिसिङ खर्चमा मात्रै वार्षिक करिब ६० हजार रुपैयाँ खर्च हुन्छ भने अन्य भैपरी आउने खर्च २० हजार रुपैयाँ मात्रै कायम गर्दा पनि वार्षिक ८० हजार रुपैयाँ सर्भिसिङ र मर्मतमै खर्च हुन्छ । वार्षिक इन्सुरेन्स र करमा ६८ हजार रुपैयाँ खर्च हुन्छ । त्यसबाहेक वर्षमा ४ वटा टायर फेर्दा २८ हजार रुपैयाँ खर्च हुन्छ । यसरी इन्धनसहित इन्धनबाट चल्ने ट्याक्सीको वार्षिक खर्च मात्रै ८ लाख ८७ हजार ७५० रुपैयाँको हाराहारीमा खर्च हुन्छ ।

अब आम्दानीतर्फ हिसाब गर्दा ग्राहकले पाएसम्म सुविधासम्पन्न ईभी ट्याक्सी नै चढ्न खोज्ने भएकाले इन्धनबाट चल्ने पुरानो मोडेलको ट्याक्सीको दैनिक आम्दानी ६ हजार ५ सय रुपैयाँ कायम गर्दा मासिक १ लाख ९५ हजार रुपैयाँ आम्दानी हुन्छ । यसलाई वार्षिकरुपमा हेर्ने हो भने २३ लाख ४० हजार रुपैयाँ हुन्छ ।

अब वार्षिक आम्दानीबाट वार्षिक खर्च घटाउँदा वार्षिक १४ लाख ५२ हजार २५० रुपैयाँ बचत हुन्छ ।

सुरुको डाउन पेमेन्ट र नम्बर प्लेटमा भएको लगानीको प्रतिफललाई प्रतिशतमा हेर्ने हो भने तपाईँले पेट्रोल ट्याक्सीबाट केवल ३ प्रतिशत मात्रै प्रतिफल प्राप्त गर्नुभएको हुन्छ ………

अब यसबाट मासिक ५० हजार रुपैयाँका दरले घर खर्च चलाउने हो भने वर्षमा ६ लाख रुपैयाँ घटाउनुपर्ने हुन्छ । यस्तो हुँदा वार्षिक ८ लाख ५२ हजार २५० रुपैयाँ बचत हुन्छ ।

अब यो बचतबाट पनि बैंकको किस्ताबापत मासिक ३५ हजार वा वार्षिक ४ लाख २० हजार रुपैयाँ बुझाउँदा वार्षिक ४ लाख ३२ हजार २५० रुपैयाँ मात्रै बाँकी रहन्छ ।

अब सुरुको डाउन पेमेन्ट र नम्बर प्लेटमा भएको लगानीको प्रतिफललाई प्रतिशतमा हेर्ने हो भने तपाईँले केवल ३ प्रतिशत मात्रै प्रतिफल प्राप्त गर्नुभएको हुन्छ ।

माथिको यो तथ्यांकले भन्छ, सुरुवाती लागत बढी देखिएपनि ईभी ट्याक्सी नियमित रूपमा चलाउँदा लाग्ने इन्धन खर्च तथा मर्मत लागत निक्कै कम हुन्छ । सञ्चालन खर्च अति नै कम र नगण्य हुने हुँदा छिटो ऋण तिर्न सहज समेत हुन्छ । आम्दानी जति सबै ईएमआईमा तिर्ने हुने भने करिब ३ वर्ष मै ईभी गाडी आफ्नो बनाउन सकिन्छ । यता आम्दानी जति सबै ईएमआई तिरे पनि इन्धनबाट चल्ने गाडी आफ्नो बनाउन कम्तीमा ४ वर्ष लाग्छ ।

पेट्रोलियम ट्याक्सी चलाउँदा भाइब्रेसन हुने, एक्सिलेटर, ब्रेक तथा क्लच थिचिरहनु पर्ने भएकाले चालकलाई थकान बढी महसुस हुन्छ । तर ईभी ट्याक्सी सेडान सेगमेन्टको भएकाले अलि बढी लक्जरी समेत छ, ईभी भएकाले गाडी भित्र बस्दा कुनै भाइब्रेसनको महसुस नहुने भएकाले यात्रु तथा चालकले आरामदायी महसुस गर्ने छन् ।

वार्षिक ७ अर्बको पेट्रोल ट्याक्सीमा मात्रै खपत
अहिले काठमाडौं उपत्यकामा करिब १३ हजार ट्याक्सीहरू सञ्चालनमा रहेका छन् । १३ हजार ट्याक्सीमध्ये करिब १० हजार ट्याक्सीहरू इन्धन अर्थात् पेट्रोलबाट चल्ने गरेका छन् ।

पेट्रोलबाट चल्ने एक ट्याक्सीले दैनिक १४० किलोमिटर गुड्दा औसतमा १२ लिटर पेट्रोल खपत गर्छ । यसरी एक ट्याक्सीले मासिक ३६० लिटर र वार्षिक ४ हजार ३२० लिटर पेट्रोल खपत गर्छ । हालको मूल्यमा एक ट्याक्सीले वार्षिक ७ लाख ४ हजार १६० रुपैयाँको इन्धन खपत गर्दछ ।

१० हजार ट्याक्सीले वार्षिक ७ अर्ब ४ करोड १६ लाख रुपैयाँको त पेट्रोल मात्रै खपत गर्ने गर्दछ ……….

यदि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका १० हजार पेट्रोल ट्याक्सीको हिसाब निकाल्ने हो भने दैनिक १ लाख २० हजार लिटर, मासिक ३६ लाख लिटर र वार्षिक ४ करोड ३२ लाख लिटर पेट्रोल खपत गर्छ ।

२०८२ पुस १३ गतेको मितिलाई आधार मानेर प्रतिलिटर १६३ रुपैयाँ खरिद मूल्य राख्ने हो भने पनि १० हजार ट्याक्सीले वार्षिक ७ अर्ब ४ करोड १६ लाख रुपैयाँको त पेट्रोल मात्रै खपत गर्ने गर्दछ ।

यदि बागमती प्रदेश सरकारको नीति अनुसार सबै ट्याक्सीलाई ईभी अर्थात् विद्युतीय बनाउने हो भने बागमती प्रदेशमा चल्ने ट्याक्सीमा जाने ७ अर्बको इन्धन बचत हुन सक्छ ।

वायु प्रदूषणमा कमी हुने
यदि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका १३ हजार ट्याक्सी नै ईभी अर्थात् विद्युतीय हुने हो भने यसले काठमाडौं उपत्यकामा हुने कार्बन उत्सर्जनमा समेत कमी ल्याएर वायु प्रदूषणलाई कम गर्न सक्छ ।

किनभने एक लिटर पेट्रोलको खपत भई इन्धन निस्कँदा २ दशमलव ३ किलोग्राम कार्बन डाइअक्साइड निस्कन्छ । यसरी हेर्दा ४ करोड ३२ लाख लिटर पेट्रोल बर्न हुँदा अर्थात् जलेर इनर्जी बन्दा ९९ हजार ५११ टन कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ, जसले काठमाडौं उपत्यका जस्तो कचौरा आकारको बस्तीमा वायु प्रदूषण गराउन पर्याप्त मात्रामा भूमिका खेल्ने गरेको छ । यदि सबै ट्याक्सी ईभी हुने हो भने काठमाडौं उपत्यकाको वायु प्रदूषण कम गर्न पनि मद्दत पुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?